यस्तो छ, कृषि विकास बैंक हृयाकिङको नालीबेली !

Diyo post  

काठमाडौं । कृषि विकास बैंकको लहान शाखाबाट असोज ५ गते ४ करोड ७३ लाख रुपैयाँ चोरी भयो । बैंकबाट काठमाडौंस्थित केन्द्रीय बैंकमा ट्रान्सफर गरी रकम लुटिएको अनुसन्धानमा देखिएको थियो ।

त्यसपछि बैंकले यो प्रकरणमा आन्तरिक छानबिन थालेको छ । प्रहरीले रकम चोरीमा संलग्न रहेको आरोपमा १२ जनालाई पक्राउ गरेर सार्वजनिक गर्दा बैंकले पनि आन्तरिक छानबिन थालेको हो । बैंकका उपमहाप्रबन्धक दीर्घ अर्यालका अनुसार लहान कार्यालयमा रहेका सबै कर्मचारी परिवर्तन गरि नयाँ पठाइएको छ । अनुसन्धानमा काले भनिने पिटर मुख्य योजनाकार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनी भारतमा बस्छन् । उनले नै नेपालका बैंक तथा वित्तीय संस्थामा हृयाक गरेर ५ अर्बभन्दा बढी रकम चोरी गर्ने योजना बनाएको प्रहरीको दाबी छ । पिटरले नेपाली नागरिकलाई प्रयोग गरेर कृषि विकास, कैलाश विकास र नवील बैंकका साथै पानस रेमिटलगायतका वित्तीय संस्थाको क्रेडिएन्सल हृयाकिङ गरी रकम निकालेको प्रहरीको दाबी छ । प्रहरीले १२ जनालाई पक्राउ गरेको छ ।

यो समूहले हृयाक गरेर कृषि विकास बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख १६ हजार र पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ लुटेको पाइएको छ । लुटेको रकम हुण्डीमार्फत भारत पठाउने गरिएको थियो । हृयाटिङमा प्रयोग हुनेहरुले भने १५ देखि ३५ प्रतिशत कमसिन पाउने गरेको प्रहरीको अनुसन्धानले खुलेको छ । यस्तै, उनले बैंकका बिनोद कोइरालाको संयोजकत्वमा ४ सदस्सीय छानबिन समिति समेत गठन गरिएको जानकारी दिए । घटना हुँदा शाखा कार्यालयमा कार्यरत कर्मचारीलाई निगरानीमा राखेर छानबिन थालिएको बताइएको छ ।

घटना हुँदा बैंकको लहान ब्रान्ज मेनेजरमा रामसेवक यादव थिए भने उनकै युजरनेम र पासवर्ड प्रयोग गरी त्यही सिस्टमबाट रकम ट्रान्जेक्सन भएको पाइएको छ । सोमबार र मङ्गलबार बैङ्कबाट अस्वभाविक रुपमा ट्रान्जेक्सन भएको पाइएपछि बैङ्कले तत्कालै प्रहरीलाई खबर गरेको थियो । त्यसलगत्तै खटेको प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको थियो भने उनीहरुले दिएको बयानको आधारमा अन्यलाई पनि नियन्त्रणमा लिइएको थियो । म्यानेजर आन्तरिक तालिमका लागि काठमाडौँमै रहेको बेला उनको एकाउन्ट प्रयोग गरिएको छ ।

रकम चोरी गर्दा बैङ्कमा भएको नाफामध्ये केही रकम खाताहरुमा ट्रान्सफर गरिएको छ । असार मसान्तसम्मको नाफाको हिसाबकिताब रुजु भइसकेकाले ती रकम नचलाइएको बताइएको छ । साउन र भदौ महिनाको नाफाबाट डेबिट (बैङ्कबाट निकालिएको रकम) गरेर उक्त रकम ट्रान्सफर गरिएको छ । अर्को अडिट नभएको अवस्थामा बैङ्कको नाफा चोरी गरिएको हो । कृषि विकास बैङ्कको बैङ्किङ सिस्टम ह्याक भएको नभई मिलेमतोमा रकम चोरी भएको बैङ्क श्रोतले दाबी गरेको छ । बैङ्कको कोर बैंकिङ सिस्टम प्रयोग गरी त्यहाँ रहेको नाफा रकम विभिन्न व्यक्तिको खातामा ट्रान्सफर गरिएको हो ।

बैङ्क कर्मचारीकै मिलेमतोमा उक्त रकम ट्रान्सफर भएको हुनसक्ने प्रबल सम्भावना रहेको प्रहरीले बताएको छ । सफ्टवेयर वा सिस्टम ह्याक भएको नभई कर्मचारीकै युजरनेम र पासवर्ड प्रयोग गरी रकम ट्रान्सफर गरिएकाले यो ह्याक नभई चोरी भएको बैङ्कले बताएको छ । कृषि विकास बैङ्कमा भएको रकम चोरीमा ग्राहकको पैसा चोरी नभएको बैङ्कले जनाएको छ । ग्राहकको रकम रहने सिस्टम प्रयोग नगरिएको र बैङ्ककै नाफा नोक्सानको खाताबाट नाफा रकम अरुको खातामा पठाइएको हो ।

यसकारण ग्राहकले कुनै चिन्ता लिनु नपर्ने प्रहरी र बैङ्क स्रोतको दाबी गरेको छ । उपमहाप्रवन्धक दीर्घ अर्यालका टी २४ भन्ने सफ्टवेयर प्रयोग गर्दै आएको थियो भने सो सफ्टवेयरलाई मजबुद सफ्टेवयरका रुपमा लिइन्छ । यस्तै रकम निकाल्ने कार्यमा संलग्न केही व्यक्तिहरु बैंककै ऋणीहरुसमेत रहेको बताइएको छ । प्रहरीका अनुसार एकै व्यक्तिले ४ करोड ८८ लाख रुपैयाँ ट्रान्सफर गर्न खोजेको देखिन्छ । जसमा ३ करोड ४ लाख सिस्टमबाट एकाउन्टमा ह्याक गरेर ट्रान्सफर गरिएको देखिएपनि ६० लाख मात्रै निकालेको देखिएको छ ।

सो पनि पक्राउ परेका ११ जनाबाट बरामद गरिसकेको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । घटनापछि प्रहरीले राजधानीसहित विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नुवाकोटको मेघाङ गाउँपालिका ४ का लवङ तामाङ, लमजुङ दोदी गाउँपालिकाका विद्यासागर लामिछाने, सर्लाहीका पुष्पराज खड्का, काठमाडौं ताकेश्वरका सञ्जय घले, तारकेश्वरकै लक्ष्मी लामा तामाङ, निर्मला तामाङ, निमा तामाङ, लक्ष्मी श्रेष्ठ र श्रवण कुमार श्रेष्ठ रहेका छन् ।

यसैगरी कैलालीको भजनीबाट विजय कुमार शाह र भारत कलकताका शुभन्कर पन्जापनि पक्राउ परेका छन् ।

सम्बन्धित खबर