खुला स्थानमा दिसा-पिसाब गरेको भन्दै दुईजना दलित बालबालिकाको हत्या गरेको आरोपमा भारतको मध्यप्रदेशमा दुईजना व्यक्तिहरू पक्राउ परेको प्रहरीले बताएको छ।
मध्यप्रदेशको शिवपुरी जिल्लाको भावडखेडी गाउँको सडक नजिकै खुला स्थानमा दिसा-पिसाब गरिरहेको अवस्थामा ती बालबालिकामाथि आक्रमण भएको प्रहरीको भनाइ छ।
आक्रमणमा पर्नेमा वाल्मीकि समाजका १२ वर्षीया रोशनी र १० वर्षका अविनाश नामका बालबालिका रहेका छन्।
पीडितका पारिवारले बीबीसी हिन्दीसँग घरमा शौचालय नभएकाले उनीहरूले खुला स्थानमा दिसा-पिसाब गरेको बताएका छन्।
लाखौँ गरिब भारतीयहरूले खुला स्थानमा दिसा-पिसाब गर्ने गर्छन्। त्यसले विशेषगरी महिला र बालबालिकालाई जोखिममा पार्ने गरेको छ।
यो घटनापछि परिवारले गाउँ छाड्ने फैसला गरेको खबर द हिन्दू पत्रिकाले लेखेको छ ।