एजेन्सी । एक महिना अगाडी विश्व हात्ती दिवसको अवसरमा श्रीलंकामा हात्तिको मेला लगाइएको थियो । सेभ इलाफेन्ट फाउण्डेशनले गरेको उक्त मेलामा ६० भन्दा बढी हात्तिहरुलाई १० भन्दा धेरै शहर घुमाइएको थियो । तीमध्य ‘तिकिरी’ नाम गरेकी हात्ति पनि थिई ।
तिकिरी ७० बर्ष नाघिसकेकी थिई । शरीर निकै दुब्लो देखिएको थियो । बुढ्यौलीसंगै हाडछाला पनि शरीरमै टाँस्सिएका । शारिरक रुपमा निकै कमजोर देखिएकी तिकीरीलाई पनि सोही समुहमा श्रीलंकका धेरै शहरहरु घुमाइएको थियो ।
राष्ट्रिय संचारमाध्यमहरुले तिकीरीको तस्वीरहरु प्रकाशन गर्दै उनिप्रति अमानवीय व्यवहार भएको भन्दै कडा विरोध भएको थियो । सामाजिक संजाल र संचारमाध्यमहरुमा जोडदार आवाज उठ्न थालेपछि फाउण्डेशनले मेलामा तिकीरीलाई नहिँडाउनु भन्दै उनकै मालिककहाँ फर्काइयो ।
तिकीरी बुढी भइसक्दा पनि मालिकले उनलाई काममा खटाइरहने गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । हिँड्नै नसक्दा पनि उनिमाथि चरम यातना दिइएको तथ्यहरु सार्वजनिक भएका थिए ।
त्यसको महिना दिनपछि मंगलबार तिकीरीले संसार छाडेकी छिन् । तिकीरीले संसार छाडेपछि मानिसहरुले उनले मुक्ति पाएको बताएका छन् । फाउण्डेशनले तिकिरीलाई श्रद्धाञ्जली दिँदै उनलाई अब कसैले पनि यातना नदिने लेखेको छ ।