विराटनगर असोज १२ । ‘बीसपारि अनि मात्र बिहेवारी’ अवधारणालाई आत्मसाथ गर्न सकेमात्र हाम्रो समाज असल समाज बन्न सक्छ भन्ने यथार्थतालाई यहाँका महिलाले अब बुझ्न थालेका छन् । अपरिपक्व उमेरमा गरिने विवाहले भविष्य उज्वल हुनुका साटो अन्धकार भएको अनुभव सानो उमेरमा विवाह गरेर पछुताएका महिलाले सुनाउन थालेका छन् ।
विवाहपछि आउने समस्यालाई हल गर्न सक्ने क्षमता निर्माण नगरी गरिने विवाहले मानिसको जीवनमा पर्ने दुःखबाट आँशु मात्र बग्छ, अनुहारमा हाँसो भने हुँदैन र पछुताउनुपर्छ भन्न थालेका छन अहिले उनीहरु ।
पढ्नेलेख्ने, हाँस्नेखेल्ने उमेरमा विवाह गरेको कारण आफूहरुलाई अहिले निकै पछुतो हुने गरेको मेनुका चौहानले बताईन । विराटनगर महानगरपालिका–१२ निवासी ३४ वर्षीया चौहान आफू कक्षा ९ मा पढ्दापढ्दै एक युवकसँग भेटघाट भयो ।
भेटघाट भएसँगै सम्बन्ध बलियो हुँदै जाँदा ती युवकसँग भागेर विवाह गरेको स्मरण गराईन । आफू १६ वर्षकै उमेरमा भविष्यको चिन्ता नै नगरी गरिएको यो विवाह आफ्नो जीवनमा अभिशाप बन्यो उहाँले अतितलाई सम्झँदै भनिन।
पछि गएर दुःख पाउँदा जीवनमा ठूलो भूल गरेको चेतना त भयो तर त्यसलाई सच्याउने बाटो नपाएको उनकोे कथन थियो ।
सोचेअनुसार वैवाहिक जीवन नचलेपछि कलहमा जीवन गुजार्नुभन्दा सम्बन्धविच्छेद गरेर एक्लो जीवन बिताउने निर्णय लिएसँगै उनले सम्बन्धविच्छेद गरिन् । हुनेखाने घरको छोरी भएर पनि अहिले कष्टकर जीवन बिताउनु पर्दा मलाई झन् पीडावोध हुन्छ उनी भन्छन् ।
हतारमा गरिएको यो विवाहले मेरो सर्वस्वहरण त भयो तर अब आउने दिनमा कसरी समस्याको सामना गर्ने झन् चुनौती थपिएको दुखेसो चौहानले गर्नुभयो ।
उनले भनिन, “आफूले गरेको विवाहप्रति निकै पछुतो छ, यसकोे कारण आफ्नो पढाइ सबै बिग्रियो, केही काम छैन, बेरोजगार छु र विवाहको परिणाम भोग्दैछु ।”
यस्तै, विराटनगर महानगरपालिका निवासी २६ वर्षीया सीमा कार्कीले पनि बालविवाहको कारण आफ्नो भविष्य बर्बाद भएको सुनाईन ।
घरका आमाबुबाले नै विवाह गरिदिएको उनको भनाई छ । आफ्नो आमाबाबु र दाजुको जिद्धीबाट विवाह भएका कारण आफ्नोे रहर र सबै सपना चकनाचुर भएको उनको भनाइ छ ।
उनले आफ्नो हाँसखेल गर्ने उमेरमा घरपरिवार चलाउनुपर्ने, साना नानीहरुको हेरचाह गर्नुपर्ने, घर व्यवहार धानेर बस्नु परेकाले मनमा कहिले पनि सन्तुष्टि नआएको र चिन्ता मात्र लागिरहेको अनुभव सुनाईन ।
आमाबुबाले आफूलाई बोझ सम्झेर छोरी पढाएर केही फाइदा नहुने भन्ने सोचका कारण आफ्नो विवाह गरिदिएको गुनासो कार्कीले गरिन ।