काठमाडौँ, असोज १२ । मनलाग्दी शुल्क असुलेको भन्दै आन्दोलित विद्यार्थीहरुले शुल्क फिर्ता गर्नका लागि चितवन मेडिकल कलेजलाई २४ घण्टे अल्टिमेटम बुझाएका छन् । शुल्क फिर्ता गर्न तोकिएको म्याद सक्किसक्दा पनि कलेज प्रशासननले कुनैपनि प्रतिवद्धता पुरा नगरेपछि अविभावक र विद्यार्थीहरुले २४ घण्टे अल्टिमेटम बुझाएका हुन् ।
एमबिबिएस अध्यनका लागि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको भन्दै चितवन मेडिकल कलेजका विद्यार्थीहरु केही दिनदेखि आन्दोलनरत छन् । क्याम्पस प्रशासनले पनि सरकारले तोकेको भन्दा बढी शुल्क लिएको स्वीकार गरिसकेको छ ।
गत असोज ४ गते जिल्ला प्रशासन कार्यालय चितवनमा भएको छलफलमा शुल्क फिर्तासम्बन्धी अध्ययन गरी प्रतिवेदन पेश गर्न सात सदस्यीय समिति बनेको थियो । तर, अध्ययन प्रतिवेदन पेश गर्नका लागि दिएको समय नाघिसक्दा पनि प्रतिवेदन तयार हुन सकेन । तोकिएको समयमा प्रतिवेदन तयार नभएपछि पुनः तीन दिनको समय थप गरिएको थियो ।
तीन दिनको समयसिमा पनि गुज्रिसक्दा कलेज बेवास्ता गरेर बसेपछि विद्यार्थीले २४ घण्टे अल्टिमेटम दिएका हुन् । संघर्ष समितिका संयोजक प्रकाश चन्द र अविभावक संघर्ष समितिका संयोजक निर्मला कँलले विज्ञप्ती जारी गर्दै कलेज प्रशासनलाई २४ घण्टे अल्टिमेटम दिएका हुन् ।
विज्ञप्तिमा सोमबार ११ बजेसम्म पनि विद्यार्थीले बढी तिरेको रकम फिर्ता नभए चितवन मेडिकल कलेज अस्पतालको गेटमा विद्यार्थी, अभिभावक र नागरिक सम्मिलित बृहत विरोध कार्यक्रम सुरु हुने विद्यार्थीहरुले बताएका छन् ।