काठमाडौँ, असोज १२ । भारतमा प्याजको मुल्य अस्वभाविक रुपमा बढ्न थालेपछि त्यहाँको केन्द्र सरकारले प्याज निर्यातमा प्रतिवन्ध लगाएको छ । आइतबार देखि लागु हुनेगरि भारतको संयुक्त वाणिज्य तथा उद्योग मन्त्रालयले प्याज निर्यातमा प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।
भारतको दिल्ली, मुम्बई जस्ता मुख्य शहरहरुमा प्याजको मुल्य ७० देखि ८० रुपैयाँ प्रतिकिलो सम्म पुग्न थालेपछि अन्य मुलुकमा निर्यात नगर्ने निर्णय भएको भारत सरकारका प्रवक्ता सितांशु केरलाई उदृत गर्दै त्यहाँका संचारमाध्यमहरुले लेखेका छन् ।
भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएसंगै नेपाली बजार पनि प्रभावित हुने भएको छ । भारतमा मूल्य बढेसंगै पछिल्लो समय प्याजको मूल्य बढ्दो क्रममा छ ।
आइतबार कालिमाटी तरकारी बजारमा प्याजको थोक मूल्य न्यूनतम ८८ रुपैयाँ र अधिकतम ९० रुपैयाँ तोकिएको छ यस्तै सुकेको प्याजको खुद्रा मूल्य भने १०५ रुपैयाँसम्म पुगेको छ ।
नेपालले चालू आर्थिक वर्षको पहिलो एक महिनामा १४ करोड ७३ लाख ९ हजार २७८ किलो प्याजका विभिन्न आइटम तथा १ लाख ६३ हजार १३१ किलो सुकेको प्याज भारतबाट आयात गरेको थियो ।