काठमाडौँ, असोज १२ । सरकारले मेलम्चीको बाँकी काम पुरा गर्नका लागि चिनियाँ कम्पनी सिनो हाइड्रोसंग ठेक्का सम्झौता गरेको छ । आइतबार मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गको बाँकी काम १ बर्षभित्र पुरा गर्नका लागि सिनो हाइड्रोसँग सम्झौता भएको हो ।
काम समयमै सक्काउनका लागि सरकारले कामदारहरुलाई प्रोत्साहन भत्ता दैनिक ०.०१५ प्रतिशत उपलब्ध गराउने समेत निर्णय भएको छ । यस हिसाबले दैनिक १२ लाख ७५ हजार प्रोत्साहन भत्ता कम्पनीले पाउने छ । एक बर्षभित्र काम पुरा नभएको खण्डमा ठेकदार कम्पनीले दैनिक १२ लाख ५० हजारको दरले जरिवाना तिर्नुपर्ने बताइएको छ ।
चिनियाँ कम्पनीले आगामी असोज २६ गतेदेखि काम शुरु गर्ने जनाएको छ । काम अगाडी मेलम्ची खानेपानी आयोजनाको प्रगती र बाँकी कामको विवरणबारे कम्पनीले जानकारी लिइसकेको छ । कम्पनीले यसअघि नै अधिकारीहरुलाई मेलम्चीमा खटाएर बर्तमान निर्माण अवस्थाको बारेमा जानकारी लिएको थियो ।
यसअघि इटालियन कम्पनी सीएमसीले मलम्चीको ठेक्का पाउँदा सिनो हाइड्रो दोस्रो कम रकम कबोल गर्ने कम्पनी थियो । सीएमसी भागेपछि मेलम्चीको थोरै मात्रै बाँकी रहेको काम सक्ने जिम्मा उसैले पाएको छ ।