काठमाडौँ, असोज १२ । कृषी विकास बैँक ह्याकिङ प्रकरणमा बैँककै शाखा कार्यलयका कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । कृषी विकास बैँक लाहान शाखाका कर्जा प्रमुख सुनिलकुमार साहलाई प्रहरीले अनुसन्धानको लागि पक्राउ गरेको हो ।
प्रहरीका अनुसार कर्मचारीकै युजर आइडीबाट बैँकको रकम लुटिएको पाइएको कारण उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाइएको हो । लहान शाखाबाट काठमाडौंमा ट्रान्सफर गरिएको उक्त रकम ह्याकरले लुटेका थिए। यसअघि गत शुक्रबार प्रहरीले महेन्द्र भट्ट, मालतीदेवी न्यौपाने भट्टराई र गणेश बस्याललाई पक्राउ गरेको थियो।
गत बिहीबार पनि प्रहरीले स्याङ्जाका रामकृष्ण भुसाललाई पक्राउ गरेको थियो। उनी प्रतीक्षा निर्माण सेवाको प्रोपाइटर हुन्। योसँगै बैंक ह्याक प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ। अपराध महाशाखाको टोलीले यसअघि पक्राउ परेका १२ जनालाई बुधबार सार्वजनिक गरेको थियो। कृषि विकास बैंकबाट ह्याकरले ४ करोड ७३ लाख ९६ हजार रुपैयाँ ह्याक गरेर व्यक्तिको खातामा ट्रान्सफर गरेका थिए।
घटनामा संलग्न भनिएका मुख्य अभियुक्त अफ्रिकन मुलका काले भनिने पिटर भने फरार छन्। उनकै योजनामा बैंक ह्याक गरेर व्यक्तिको खातामा रकम ट्रान्सफर गरिएको प्रहरीले जनाएको छ।