यो दसैंमा काठमाडौंमा खसीको मासु महँगो हुने

दियो पोस्ट  

काठमाडौं, असोज १३ । दशैँ सुरु भएसँगै काठमाण्डू उपत्यकामा खसीको मासुको मूल्यमा व्यापक वृद्धि भएको छ।

सरकारले भारतलगायत अन्य मुलुकबाट आयात गरिने पशुपक्षीको अनिवार्य स्वास्थ्य जाँच गरिनुपर्ने कानुनी व्यवस्था कडाइका साथ लागु गरेकाले आयात घट्न गएकाले दशैँका बेला खसीको मासुको मूल्य अझ बढ्ने व्यवसायीहरू बताउँछन्।

केही हप्ताअघिसम्म खसीको मासु प्रतिकिलो ९५० रुपैयाँका दरले बिक्री भइरहेको थियो। तर अहिले काठमाण्डू, ललितपुर र भक्तपुरका अधिकांश मासु पसलमा झन्डै १,२५० देखि १,३०० रुपैयाँ प्रतिकिलोका दरले बिक्री भइरहेको छ।

चौपाया खरिद बिक्री सेवा सङ्घका पूर्व अध्यक्ष दीपक थापाका अनुसार सरकारले खसीको आयातमा गरेको कडाइका कारण खसीको मासुको मूल्य १५०० देखि १६०० रुपैयाँ प्रतिकिलोसम्म पुग्न सक्ने अवस्था छ।

बजारमा माग र आपूर्तिको अवस्थाले खुद्रा मूल्य निर्धारण गर्ने उनको भनाइ छ।

थापाका अनुसार हाल जिउँदो खसीको मूल्य प्रतिकिलो ७०० सम्म पुगेको छ। आपूर्तिमा कडाइ गरिनुअघि त्यो प्रतिकिलो ५४० रुपैयाँको छेउछाउमा थियो।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयअन्तर्गत रहेको पशु सेवा विभागका अनुसार दशैँमा काठमाण्डू उपत्यकामा मात्रै करिब ५० हजारवटा खसीको खपत हुन्छ।

व्यवसायीहरूले बताएअनुसार सालाखालामा प्रत्येक खसीबाट २० किलो मासु तयार हुने हो भने दशैँका बेला मात्रै काठमाण्डू उपत्यकामा करिब १० लाख किलो खसीको मासु खपत हुने देखिन्छ।

मूल्य वृद्धि हुनुभन्दा अघिको समयसँग तुलना गर्ने हो भने खसीको मासुको मूल्य प्रतिकिलो ३०० रुपैयाँका दरले महँगो भइसकेको छ। त्यसको अर्थ खसीका लागि काठमाण्डू उपत्यकावासीहरूले करिब ३० करोड भन्दा बढी खर्च गर्नुपर्ने देखिन्छ।

कति खपत हुन्छ?

“नेपालमा वार्षिक एक करोड २८ लाखवटा खसी, बोका र बाख्रा तयार हुन्छन्। तीमध्ये प्रत्येक वर्ष करिब ३३ लाखवटा खसी मासुका लागि कटनीमा जान्छ,” पशु सेवा विभागका महानिर्देशक डाक्टर वंशी शर्माले बीबीसी न्यूज नेपालीसँग भने।

कुल ३३ लाखवटामा वार्षिक २७ लाख खसी काठमाण्डूबाहेक अन्य जिल्लामा खपत हुने सरकारी तथ्याङ्कले देखाउँछ। बाँकी छ लाखवटा खसीको राजधानीमा खपत हुन्छ।

दशैँका बेला खसीको मासु खपतमा व्यापक वृद्धि हुने भए पनि दशैँ र तिहार मनाउन ठूलो सङ्ख्यामा राजधानीबाट मानिसहरू बाहिरिने हुँदा मासिक रूपमा हुने खपतको अनुपातमा भने धेरै फरक नपर्ने व्यावसायीहरू बताउँछन्।

दशैँका बेला काठमाण्डू उपत्यकामा अन्य जनावरको मासु खपतमा पनि त्यत्तिकै वृद्धि हुने सरकारी अधिकारी र मासु व्यवसायीहरू हरू बताउँछन्।

के छ कानुनी व्यवस्था?

पशु स्वास्थ्य तथा पशु सेवा नियमावली २०५६ मा पैठारी गरिने पशुपक्षीको हकमा सम्बन्धित मुलुकको पशु क्वारेन्टाइन अधिकृत वा भेटेनरी अधिकृतले त्यस्तो पशुको स्वास्थ्य ठिक छ भनी प्रमाणित गरेको प्रमाणपत्र आवश्यक पर्ने व्यवस्था गरिएको छ।

त्यसका अतिरिक्त नेपाल सरकारले बनाएको खोप लगाएको हो होइन तथा कस्तो औषधि प्रयोग भएको छ भन्ने विवरण पनि खुलाउनु पर्ने प्रावधान छ।

कानुन बनेको झन्डै २० वर्षपछि उक्त व्यवस्थालाई कार्यान्वयन गर्न नेपाल सरकारले आफ्ना निकायलाई पत्राचार गरेको थियो।

तर भारतका सरकारी निकायहरूलाई नेपाल पठाउने खसीबोकाका लागि त्यस्तो प्रमाणपत्र दिने व्यवस्था नरहेको भन्दै दिन मानेको छैन। बीबीसी नेपाली सेवाबाट