गृह मन्त्रालयमा पुग्यो निषेधाज्ञा खुकुलो बनाउने प्रस्ताव : निजी सवारी जोर विजोर, पसल खुल्ने !

दियो पोस्ट  

काठमाडौं, २४ भदौ । उपत्यकाका तीन जिल्लामा जारी निषेधाज्ञामा केही खुकुलो हुने भएको छ । निजी सवारीलाई जोर विजोर चल्न दिने र फरक प्रकृतिका पसल फरक दिनमा सञ्चालन गर्ने लगायतका निर्णय सहित अन्तिम स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको छ ।


उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाअधिकारी तथा अन्य सम्बन्धित सरोकारवालहरुको हिजो भएको बैठकले सो अनुसारको निर्णय गरी गृहमन्त्रालय पठाएको बैठकका एक सहभागीले बताए ।
यसबारे गृहबाट अनुमति प्राप्त हुनसाथ आजै निषेधाज्ञाको मोडालिटी सार्वजनिक गरिने ती अधिकारीको भनाइ छ ।

मंगलबार काठमाडौं उपत्यका नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञाको बिषयमा औपचारिक छलफल गरेर निर्णय गृह मन्त्रालय पठाएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले नगरपालिका मेयर फोरम, उद्योगी सुरक्षा निकायसँग भर्चुअल छलफलपछि निर्णय गरेको र सोही जानकारी गृह मन्त्रालयमा पठाएको बताए। मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाइ गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको थियो ।


प्रमुख जिल्ला अधिकारीहरुले सबैसँगको छलफलको आधारमा निर्णय लिइसकेको सो निर्णयलाई राय लिनको लागि गृह मन्त्रालयमा पठाएको र गृहमन्त्रालयले निर्देशन दिएपछि निर्णय सार्वजनिक गर्ने बताए । बुधबार समेत उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठकपछि निर्णय सार्वजनिक गर्ने उनले बताए।

TATA ADD