दियोपोस्ट संवाददाता,
धादिङ, २७ भदौ । धादिङको ज्वालामुखि गाउँपालिका ६ चैनपुर रानागाउँका दिल बहादुर पुलामीको दुवै मृगौला फेल भएको छ । मृगौला फेल भएका पुलामीको आर्थिक अवस्था समेत कमजोर भएपछि उनले आर्थिक सहयोगको अपिल गरेका छन् ।
‘पहिले खुट्टा र अनुहार सुन्निएको अनुभव भयो । गत जेठमा म परिक्षणका लागि धादिङ अस्पताल गएँ । अस्पतालले रगत खराब छ काठमाडौं जानु भने । काठमाडौंको विनायक अस्पतालमा परिक्षण गराउँदा दुवै मृगौला खराब छ भन्ने रिपोर्ट आयो,’ दियोपोस्टसँग आफ्नो व्यथा सुनाउँदै दिल बहादुरले भने,‘हप्ताको दुई पटक डायलाइसिस गराउनुपर्छ । अहिले डायलाइसिस गराउने रकम समेत छैन ।’
आफ्नो स्वास्थ्य राम्रो हुँदा डकर्मी काम गर्ने उनकै काँधमा परिवारको लालनपालनको जिम्मेवारी थियो । दिलबहादुरको आमालाई प्यारालाइसिस् रोग छ । श्रीमति भने होडजोर्नी सम्बन्धी गम्भिर रोगको शिकार बनेकी छिन् । यस्तोमा उनी आफै भने दुवै मृगौला फेल भएपछि चरम संकटमा छन् ।
‘डायलाइसिस गराउन हप्ताको ८ हजार रुपैयाँ लाग्दो रहेछ । गाउँघर, आफन्त, नातागोता सबैतिर ऋण खोजेँ । घरमा भएको एउटा भैँसी पनि बेचेँ । गाई बाख्रा समेत बाँकी छैनन् । चार महिनामा मैले खोजेको ऋण र जायजेथा नै सकियो,’ उनले भने,‘अब त मेरो यहि दुबै मृगौला फेल भएको शरिर बाहेक केही छैन । यो ज्यानलाई बचाउन सकिएला जस्तो छैन ।’
त्यसो आफ्नो परिवारका सबै सदस्य विभिन्न रोगले थलिएपछि उनलाई मृगौला दिने परिवार भित्रैका सदस्य समेत छैनन् ।
आर्थिक सहयोगका लागि ज्वालामुखि गाउँपालिकाले एउटा सिफारिस दिएको छ । तर, त्यो सिफारिसको आधारमा सरकारले तोकेका सबै निशुल्क अस्पतालमा पुगेपनि उनको डायलाइसिस निशुल्क हुन सकेन । ‘१५ वटा अस्पताल पुगेँ । अस्पतालमा पुगेपछि नयाँ की पुरानो भनेर सोध्छन् । म नयाँ हुँ भनेपछि तपाईंलाई छैन भन्दै फिर्ता पठाइन्छ,’ उनले आफ्नो दुखेसो दियोपोस्टसँग पोखे,‘शिक्षण अस्पताल, मनमोहन अस्पताल, ग्रिनसिटि अस्पताल, गंगालाल र वीर अस्पताल लगायत सबै अस्पतालमा यो सिफारिस देखाउँदै निशुल्क डायलासिसको अनुनय गरेँ । तर, कसैले पनि गरेनन् । तर, अस्पताल भनेको पनि पैसाकै लागि मात्रै रहेछ । पैसा दिनेभएपछि सबै अस्पतालले डायलाइसिस गराउन तयार हुँदा रहेछन् ।’
त्यसो त उनको गाउँ चैनपुरबाट नेकपाकै नेताहरु संविधानसभा सदस्य गुरु बुर्लाकोटी र खेम प्रसाद लोहोनी राजनीतिक शक्तिमा छन् । प्रतिनिधि सभा सदस्यको रुपमा चुनाव जितेका लोहोनी ३ वर्षदेखि सांसद छन् । उनी हाल नेकपा भित्र प्रधानमन्त्री केपी ओलीसम्म पहुँच भएको नेताको रुपमा चिनाउन चाहान्छन् । दिल बहादुरले समेत उनै लोहोनीलाई चुनाव जिताउन भोट हाले । तर, राजनीतिलाई सेवा भन्दा पनि आफ्नो दुहुनो सोझ्याउन लागि परेका लोहोनीले उनको दुख सुन्न समेत चाहेनन् ।
‘भोट माग्न आउनेबेलामा मात्रै कान ठाडो पार्ने रहेछन् । भोट हालेकै हो । यस्तो बेलामा नहेर्ने रहेछन्,’ उनको आक्रोस छ ।
त्यति मात्रै होइन नेपाली कांग्रेसका समाजसेवी नेता बताउने रामनाथ अधिकारीलाई पनि उनले सहयोगको लागि अपिल गरेका रहेछन् । तर, अधिकारीले पनि केही नगरेको उनको गुनासो छ ।
अहिले उनलाई राजधानीको कलंकीमा रहेको नेश्नल अस्पतालमा डायलासिस गराइएको छ । तर, निकै महँगो भएका कारण अब उनीसँग डायलायसिस गर्ने पैसा समेत छैन । ‘जीवन अमुल्य हुँदो रहेछ । म आफै बाँचेर मेरो परिवारलाई पनि बचाउनु छ । सक्नुहुन्छ मलाई आर्थिक सहयोग गरिदिनुस्,’ उनको सार्वजनिक अपिल छ,‘म तपाईंहरुकै सहयोगबाट बाँच्न चाहान्छु ।’
दिल बहादुरले आफूलाई बचाउन बैंकमा खाता समेत खोलेका छन् ।
यदि तपाईं उनलाई सहयोग गर्न चाहानुहन्छ भने तलको विवरण अनुसार सम्पर्क गर्नसक्नु हुन्छ ।
खातावाला : दिल बहादुर पुलामी मगर
खाता नम्बर : ०६०२१६००५७६६२००००००१
बैंक : मुक्तिनाथ विकास बैंक
सम्पर्क : ९८२३४९२१२३