काठमाडौं, २९ भदौ । राजधानीको युएन पार्कको बागमति नदि किनारमा हरेक विहान ५ बजेर ३० मिनेट जाँदा एउटा कार आइपुग्छ । निलो कलरको बा ५ च १९ नम्बरको सुजुकी कार युएन पार्क जोड्ने झोलुंगे पुल अघिल्तिर रोकिन्छ ।
कारको अघिल्लो भागमा चालक बस्छन् । पछिल्लो भागभने पुरै खोलिएको छ । केहीबेर अघि मान्छे हुँइकिएर आएको कारको पछाडीको ढोका खोल्ने वित्तिकै त्यसले एउटा पसलको रुप लिन्छ ।
उक्त कारको पछाडीको भागमा नेपालमा पाइने अर्गानिक तरकारी, फलफूल, गेडागुडी, मह चियापत्ति, जडिबुटी, तेल घ्युदेखि सख्खरसम्म राखिएको हुन्छ ।
अनामनगरमा स्टोर रहेको अर्गानिक नेपालका सक्सेस बुढाथोकी यसरी गाडीमै राखेर नेपालको मौलिक खाध्य सामग्री बेचविखन गर्दै आएका हुन् ।
‘लकडाउन भएपछि घरमै कति बस्नु भनेर नयाँ विचार आयो । चार पाँच दिनदेखि मैले यसरी नै विहान बेलुका व्यापार गर्दै आएको छ,’ उनले दियोपोस्टकर्मीसँग भने,‘ दैनिक १० देखि १५ हजार रुपैयाँको व्यापार हुन्छ ।’
बुढाथोकीका अनुसार उनले विहान र बेलुका नै युएन पार्क अगाडीको बागमति किनारमा यसरी कारमै राखेर अर्गानिक सामग्री बेच्दै आएका छन् ।
जुम्लाबाट ल्याइएको अर्गानिक स्याउ प्रतिकजी २ सय रुपैयाँमा विक्री गदै आएको उनको दाबी छ ।
उनका अनुसार त्यहाँ आउने ग्राहकहरुले समेत यसरी व्यापार गरको प्रसंशा गरेका छन् ।
त्यसो त कार ! भन्ने वित्तिकै आम मानसपटलमा आरामदायी सवारी साधन भन्ने आउँछ । आम मानिसमध्ये केही प्रतिशत मानिस कार चढ्ने सपना बोकेरै जीवन विताउँछन् । कार मुलत आवात जावत र यात्राको सौखित साधन हो ।
कोरोना भाइरस संक्रमणका कारण काठमाडौं लगायत देश विगत ६ महिनादेखि निरन्तर लकडाउन र निषेधाज्ञाको चपेटामा छ ।
लकडाउन र निषेधाज्ञाकै कारण नेपालको अर्थतन्त्र नै तहसनहस हुने अवस्थामा छ । आम नागरिकलाई घरबाट बाहिर निष्कन समेत मुस्किल छ ।
लकडाउन र निषेधाज्ञाकै कारण सडकमा सवारी साधनलाई कडाई गरिएको छ । सार्वजनिक यातयात मात्रै होइन नीजि सवारी साधन समेत घरमै थन्किएर बसेका छन् ।
यस्तो अवस्थामा उनले कारलाई घरमै थन्काउनु भन्दा सदुपयोग गरेर केही पैसा आम्दानी गर्ने सोच बनाएका हुन् ।