इजाजत बिनै पानी भरेपछि गोरखा वेभरेजमाथि कारबाही, ३ लाख रुपैयाँ जरिवाना !

दियो पोस्ट  

काठमाडौं, ३१ भदौ । भूमिगत पानी उत्पादनको इजाजत बिनै पानी उत्पादन गरेको पाइएपछि राजधानीको जोरपाटीमा रहेको गोरखा वेभरेज कम्पनि कारबाहीमा परेको छ ।


वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गोरखा वेभरेजलाई ३ लाख रुपैयाँ जरिवाता गरेको हो । जोरपाटीमा रहेको वेभरेजले आक्वा मास्टर नामको जारको पानी र उपकार नामको बोतलको पानी उत्पादन गर्दै आएको छ ।


‘भूमिगत उद्योगको इजाजत नलिई पानी उद्योग संचालन गरेको पाइएपछि विभागले शिल गरेको हो । ईजाजत लिएर आउनुस् भनेर बन्द गरेको हो । बन्द गरेको समयमा आफ्नो उद्योगको जारलाई अर्को उद्योगमा लगेर आफ्नै लेभल आफ्नै स्टिकर राखेर विक्री गरेको पाइयो,’ विभागका अनुसन्धान अधिकृत ध्रुव खनालले दियोपोस्टसँग भने,‘विभागले गरेको कारबाहीलाई समेत च्यालेन्ज गरेको देखियो । अनुचित व्यापारिक क्रियाकलाप भएको हुनाले त्यसमा २ लाख रुपैयाँ जरिवाना लिइएको हो । इजाजत नलिई उद्योग सञ्चालन गरेको कसुरमा थप एक लाख सहित ३ लाख रुपैयाँ जरिवाना गरिएको हो ।’


विभागका अनुसार गोरखा वेभरेजले नजिकै रहेको बराल खानेपानी सेवामा गएर आफ्नो जारमा पानी भरेको पाइएको थियो । राती ११ बजे शनिबारको दिन पारेर बराल खानेपानीमा गोरखा वेभरेजेले पानी भरेको भन्दै स्थानियबासीले तस्विर खिचेर पठाएका थिए । उजुरीपछि छानबीन गर्दा प्रमाणित भएपछि जरिवाना लिइएर उद्योग खोल्न अनुमति दिइएको खनालले दियोपोस्टलाई जानकारी दिए ।

गोरखा वेभरेजका म्यानेजर बताउने श्रेष्ठले आफूहरुले बराल खानेपानीकै स्टिकर र लेभलमा पानी भरेको दाबी गरे । लकडाउनका कारण इजाजत समेत लिन नपाएका कारण विभागले गत भदौ १४ गते शिल गरिदिएको उनको दाबी छ ।

TATA ADD