काठमाडौं, १ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार २ सय ४६ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो सँगै नेपालमा पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ५९ हजार ५ सय ७३ पुगेको छ।
पछिल्लो २४ घण्टाको अवधिमा चार जनाको मृत्यु भएको उसको तथ्याङ्कले देखाउँछ। सरकारका अनुसार अहिलेसम्म ३८३ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ।
अहिले देशभरि १६ हजार २ सय ४१ जनामा सक्रिय सङ्क्रमण छ। तीमध्ये ७ हजार ९ सय ३ जना संस्थागत आइसोलेशनमा र अरू घरमै भएको मन्त्रालयले जनाएको छ।
प्रदेश नं २ र वाग्मती प्रदेशका जिल्लामा सङ्क्रमितको सङ्ख्या धेरै रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार कोरोना जितेर घर जानेको सङ्ख्या ४२ हजार ९ सय ४९ पुगेको छ। अहिलेसम्म ७२ प्रतिशत सङ्क्रमितहरू रोगमुक्त भएको सरकारी तथ्याङ्क छ।