काठमाडौं, २ असोज । खाना पकाउने एलपी ग्यास सिलिन्डरको धरौटी रकम अब २१ सय रुपैयाँ भएको छ ।
सिलिन्डरको धरौटी रकम एकरुपता ल्याउन नेपाल एलपी ग्यास उद्योग संघले असोज २ गते (शुक्रबार) देखि उक्त मुल्य निर्धारण गरेको हो । हाल मुलुकभर ५८ ग्यास उद्योग छन् । ती उद्ययोगको सिलिन्डर मुल्य रकम फरक फरक छ ।
डिलर २४ सयदेखि ३ हजार रुपैयाँसम्ममा बिक्री गर्दै आएको संघका अध्यक्ष गकुल भण्डारीले जानकारी दिए ।
सिलिन्डरको धरौटी रकममा भईरहेको अन्योल चिर्न २१ सय रुपैयाँ निर्धारण गरिएको भण्डारीले बताए । सिलिन्डरको धरौटी रकम फरक फरक हुँदा अभावका बेला सर्वसाधरण ठगिँदै आएका थिए । उनले भने, अब बजार व्यवस्थित हुन्छ ।
सिलिन्डर बिक्री गर्दा धरौटी रकम २१ सयभन्दा बढी लिए कारबाही हुन्छ । गुणस्तर तथा नपतौ विभाग र वाणिज्य आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागसँग छलफल गरेर धौरौटी रकम निर्धारण गरेको भण्डारीले बताए ।
सिलिन्डरको मुल्यसँगै बिल पनि अनिवार्य गरिएको छ । यसले धरौटी फिर्ता गर्न सहज हुने संघले जनाएको छ । संघका अध्यक्ष भयडारीका अनुसार कुनै उद्योग कार्यालय बन्द भए वा उपभोक्ता बसाइँ सराइ गरे सिलिन्डरको धरौटी रकम फिर्ता हुने छ ।
नेपाल आयल निगमले १४ किलो ग्यासको मुल्य १३ सय ७५ रुपैयाँ तोकेको छ । अब ग्याससहितको सिलिन्डर किन्दा ३४ सय ७५ रुपैयाँ पर्छ । यसअघि मुल्यमा मनोमानी थियो । यसअघि ४ हजारदेखि ५ हजार रुपैयाँसम्म ग्याँससहितको सिलिन्डर किन्न पर्ने हुन्थ्यो ।