तीज र खलबल : दर भर्सेस व्रत 

diyopost.com
दियो पोस्ट  बिहिबार, भाद्र २४, २०७८ | १३:२८:०८

– राजु झल्लु प्रसाद

तीज बालीनाली रोपिसकेपछिको फुर्सदिलो समयमा मनाइने पर्व हो । पर्व भनेपछि धार्मिक, सांस्कृतिक र सामाजिक दृष्टिकोणले महत्त्वपूर्ण दिन भनेर बुझ्नु पर्ने शब्दकोशको उर्दी छ । दुई वस्तु या दुई अंग जोडिनुलाई पर्व, चाड, उत्सव मानिदिदा खासै फरक पर्दैन । 

तीज पर्व भन्नासाथ हामी चेली-माइती पक्षको भेटघाट, रमाइलो एवं दर खाने दिनहरूको सूची हो । यस दिनहरूमा दाजुभाइहरू कोसेली सहित आफ्ना दिदीबहिनीको घर पुग्दछन्  र चेलीहरूलाई माइत लिएर आउँछन् । स-परिवार बसेर दुग्धजन्य परिकार सेवन गर्छन् । चेलीहरू उपवास बस्छन् (प्रायाश:) । रातो, हरियो, पहेँलो रङ्गको पहिरनमा सजिन्छन् (प्रकृति पनि यहि रङमा देखिन्छ) । चुरा, पोते लगाउँछन् । नाचगान गर्छन् । गीतको माध्यमबाट माइती एवम् आफ्ना सखी-साथीसँग मनको वह पोख्छन् ।

चेली र माइती पक्षबीच आपसी प्रेम बढाउने यो पर्वले महिलाहरूको दुखेसो पोख्ने वातावरण सिर्जना गरिदिएको थियो । आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज छाडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वले गहन महत्त्व राख्यो, राख्न खोजिरहेको छ।

धार्मिक विश्वास :

परापूर्वकाल कालमा हिमालय पुत्री पार्वतीले भगवान् शिवलाई स्वामी पाउँ भनी निराहार व्रत बसेको र उनको कामना पूरा भएको जनविश्वास रही आएको छ । पार्वतीले शिवलाई श्रीमानका रूपमा पाउन १ सय ७ जन्मसम्म घोर तपस्या गरे पनि १ सय ८ औँ जन्ममा मात्र उनको तपस्या पूरा भएको शास्त्रहरूले बताएका छन् । यही मान्यतालाई अनुसरण गर्दै (गराउदै?) विवाहित महिलाले आफ्ना श्रीमानको दीर्घायु एवं अविवाहित महिलाले सुयोग्य वर पाऊँ भनी तीजको व्रत बस्ने चलन छ ।

हिमालय पर्वतले छोरी पार्वतीको चाहना र तपस्या विरुद्ध उनको विवाह भगवान् विष्णुसँग गरिदिन खोजेका थिए । भगवान् शिवकी अर्धाङ्गिनी रूपमा जीवनभर रहने पार्वतीको इच्छा अनुरूप हिमालय पर्वत विरुद्ध विद्रोह गरेकी पार्वतीका संगीसाथीहरूले उनलाई जङ्गलमा लगेर लुकाएर राखेको हुनाले यसलाई ‘हरितालिका’ भनिएको हो । संस्कृतमा ‘आलि’ भनेको ‘साथी’ र ‘आलिभिर्ह्रिता साथीहरू’द्वारा हरण गरिएकी भनेर ‘हरितालिका’ नाम रहन गएको हो ।

तीज यही बेलादेखि शुरु भएको भन्ने ठ्याक्कै मिति निर्धारण त गर्न सकिँदैन तैपनि यो भारत वर्ष विशेष गरी उत्तर भारत एवम् नेपालमा पौराणिक कालदेखि नै चलिआएको बुझ्न सकिन्छ । तीजको इतिहास पार्वती र शिवसँग जोडिने हुनाले अनादिकादेखि नै यस पर्वको अस्तित्व रहेको बुझ्दा ठिकै हुन्छ ।

दर बहस :

भाद्र शुक्ल द्वितीया अर्थात् हरितालिका तीजको अघिल्लो दिन तीजको व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरूले खाने ‘दरिलो खाद्य वस्तु’ नै दर हो ।

माइतीपक्षले आफ्ना चेलीबेटीलाई दर खुवाउने प्रचलन रहेको छ । यसकारण विवाहित महिलाहरूको लागि दरको महत्त्व अझ विशेष भयो  । विवाह भएर टाढा पुगेका दिदीबहिनीबिच भेट गराएर यस पर्वले दाजु बहिनी र दिदिभाइ बिच आपसी समझदारी र प्रेम बढाउने काम गर्यो ।

माइतीको निम्तोमा दर खान पुगेका महिलाहरू यसबेला आमा, हजुरआमा या भाउजूहरूको स्नेहमा कुनै सुर्ता नराखी खाने र रमाउने गर्दछन् । आपसी राग, द्वेष र गुनासाहरू आफ्ना दाजुभाइ र आमाबुबालाई सुनाएर मन हलुका बनाउनु तीजको अर्को सबल पक्ष हो । हिजो (१० वर्ष अगाडीसम्म) चुल्हो-चौको एवं घरधन्दाको व्यस्ततामै अल्झिएका अधिकांश महिला तीजमा मन खोलेर आफ्नो व्यथा पोख्थे ।

तर अहिले सबै नेपाली नारीको घरमा यस्तो अवस्था छैन, आधुनिकता र प्रविधिको बढ्दो प्रयोग र सहज उपलब्धताको कारण माइती पक्षसँग नियमित जसो सम्पर्कमा रही रहन सकिन्छ । माइत जानै पर्ने या चेलीले आफ्ना दाइभाइसँग आफ्नो विवाहित जीवनको बारेमा दु:खसुखका कुरा गर्न तीज नै पर्खनु पर्ने जरुरत अब रहेन ।

यसैको नतिजा स्वरूप तीज पर्व माइतीपक्षसँग भेटघाट र सुख दु:खका कुरा भन्दा पनि नाचगान र खानपिनको पर्याय बन्न पुग्यो । पछिल्लो समय दर सामाजिक सङ्घ संस्था, राजनैतिक पार्टी र टोल छिमेकमा समेत मिलेर खाने गरेको पाइन्छ । टोलटोलमा समूह बनाएर एक महिनाअघिदेखि नाचगान र खानपिनका कार्यक्रम सञ्चालन गरिन थालिएको भेटिन्छ ।

आजका दिनहरूमा ‘दर खानु’ भनेको मदिरापान, गहना प्रदर्शनी, भोजभतेर र भड्किला गीतसङ्गीतमा झुम्नु भनेर बुझ्न थालिएकोमा पितृसत्ताको टाउको दुखिरहेको छ । एकातर्फ तीज भनेको ‘दर खानु’ मात्रै हो झैँ गरी बुझिएको छ भने अर्कोतर्फ ‘एक दिन खाइने दर’ महिनौँ अघि देखि खान थालिएको छ । श्रावण लागेदेखि नै यो उपभोक्तावादको भुक्तभोगी यस बजारले तीजको नाममा महिला दिदीबहिनीहरूलाई आफूतर्फ खिचेको छ । साडी, गरगहना, टिका, धागो, जुत्ता चप्पल लगायतका चीजद्वारा महिलालाई यस बजारले उपभोग्य वस्तुको रूपमा अठ्ठाइरहेको प्रस्ट देख्न सकिन्छ । यो सिलसिला अझ बढ्ने देखिन्छ ।

दर हो चाहिँ के ?

सरासर भन्नुपर्दा तिजको अघिल्लो दिन खाइने खाद्यवस्तु दर हो । 

इतिहासका ज्ञाता एवम् सामाजिक/धार्मिक अनुयायीहरूका अनुसार ‘काँक्रोको टुक्रा र केरालाई दहीमा मिसाएपछि बन्ने चीज’ नै असली दर हो । गाउँका वृद्ध हजुरआमाहरू खिर र काँक्रोको अचार समावेश भएको खाना आफ्नो लागि दर भएको बताउँछन् । जाबो दही र काँक्रो खाएर भोलिपल्ट पानी समेत नखाई तपाईँहरू व्रत बस्न सक्नुहुन्थ्यो भनी सोध्दा उनीहरू बताउँछन्, “पहिलेको चीजमा ज्यादा भिटामिन हुन्थ्यो ।”

पछिल्ला वर्षमा वर्णशंकर जातका काँक्रा बाह्र मासे पाइने भए पनि उति बेला भदौताका विभिन्न प्रजाति काँक्राहरू झुत्तो लाएर फल्ने गरेको इतिहास भेटिन्छ । अर्थात् त्यति बेला काँक्राको अचार एवं घिउ, दूध, दही साथै केरा दर खानको लागि उपयुक्त खाद्य पदार्थ थियो ।

तर पछिल्ला वर्षहरूमा सहरिया जमात बहुराष्टिय कम्पनीले उत्पादन गरेका ह्विस्कीका बोतल फोरेर आधुनिक बन्नु एकातर्फ छ भने पतिव्रतका नाममा पानी समेत नखानुलाई तीज(दर खानु) मान्ने प्रचलन अर्कोतर्फ रहीआएको छ ।

आधुनिक तीज कार्यक्रमहरूको अवधि प्रतिवर्ष लम्बिँदै छ भने अनावश्यक रूपले खर्चिलो समेत बनिरहेको छ। तीजको प्रमुख पक्ष गौण बन्दै अन्य पक्षले प्रमुख स्थान पाउँदै गइरहेको देख्दा यो पर्व नै विकृत हुने हो कि भन्ने आशङ्का बढ्नु स्वाभाविक नै हो ।

तीज गीत :

कुनै पनि पर्वमा गीत-सङ्गीतले विशेष महत्त्व राख्दछ । पहिला पहिला तीज शुरु हुनुभन्दा केही दिन अघिदेखि महिलाहरू टोल छिमेकमा भेला भएर दु:ख र पीडाका गीत गाउथें । तीज गीतमा विवाहित दिदीबहिनीलाई दाइ/भाइ लिन आएको र नआएको, दिदीबहिनीबिचका दु:ख सुखका कुराबारे चर्चा परिचर्चा हुन्थ्यो ।

सांस्कृतिक मान्यता स्वरूप महिलाहरू गीत गाउँदै नजिकैको मन्दिर वा समूहमा भेला भएर विभिन्न भाकामा तीजका लय गुन्जाउँथे । यी गीतहरूमा छोराछोरीबिचको विभेद, पीडा, सासू-बुहारीको कचकच, दु:ख, ईर्ष्या आदि विषय समावेश हुन्थे । अर्थात्  त्यस समय  गीतको माध्यमबाट मनको वह पोख्ने गर्दथे -महिलाहरू ।

तर समयसँगै तीजका गीतहरूमा परिवर्तन आएको छ ।

त्यति बेला महिलाहरू विद्युतीय उपकरण र साधन नहुँदा समूहमा भेला भई गीत गाउँथे भने अहिले रेडियो र टेलिभिजनमा आधुनिक शैलीका गीत र नृत्य गुञ्जिन थालेका छन् । अहिले तीज गीतका विषय पनि परिवर्तन भएको भेटिन्छ । मुखले गाउने गीतका स्थान बजारबाट किनेका गीतहरू एवम् युट्युबले ओगटेको पाइन्छ ।

तीजको महत्त्व दर्साउने गीत विरलै बज्नथालेका छन् । तीजका गीतहरूको सट्टा डिजे बज्न थालेका छन् । 

विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि युट्युबमा तीज गीतको बाढी नै आएको छ । अधिकांश लोकदोहोरी गायक–गायिकाले तीज गीत तयार पारेका छन् । युट्युबमा सार्वजनिक गरिएका यस्ता गीतहरू उत्कृष्ट भ्युज कमाउँदै ट्रेन्डीङमा परे पनि गीतमा समावेश गरिएका शब्द, भाव, त्यसले दिने सन्देश भने किञ्चित तीजको महत्त्व दर्शाउदैनन् ।

यस्ता गीतहरूमा कहिँकतै संस्कृति समावेश भएका भेटिँदैनन् । तीजको महत्त्व र संस्कृतिको जगेर्नातर्फ यी गीतहरूले नबोल्ने हो भने यी गीतहरूलाई तीज गीत भन्न मिल्ने कि नमिल्ने ? गम्भीर प्रश्न खडा हुन्छ । यसरी संस्कृति विकृत-विसङ्गत हुँदै जाँदा तीज (तीज गीत), तिहारको देउसी भैंलोका गीतहरू, असारे गीतहरू पनि क्रमश: ओझेलमा पर्दै जाने निश्चित प्राय: छ । 

व्रत बहस :

नेपालमा विभिन्न धार्मिक र पैतृक अनुष्ठानमा व्रत बस्ने चलन छ । र, यी सब अनुष्ठानहरूमा प्रायजसो महिलाहरू व्रत बस्दछन् ।

तीजमा महिलाहरूले निर्जल, निराहार उपवास बस्नुपर्ने धार्मिक मान्यता रहँदै आयो । नारीले व्रत बस्दा श्रीमानको आयु वृद्धि हुने साथै श्रीमानको सु-स्वास्थ्यको एवम् प्रगति हुने र परिवारमा समृद्धि तथा सुख सम्पत्ति बढ्ने विश्वास पनि गरियो ।

नेपाली समाजमा पुरुषहरू व्रत बस्ने या बसेको निकै कम सुन्ने, देख्ने या भेट्ने गरिन्छ । यहीँ कुरालाई लिएर अहिले समाजमा ठुलो बहस चर्की रहेको छ । यतिखेर ‘महिला मात्रै किन ?’ भन्ने प्रश्न सतहमा आएको छ ।

तीजको दर, व्रत वा तीज पर्वलाई नै विकृतिको भण्डार मान्नेहरू तीजको नाममा लुगा–गहनाको अत्यधिक  एवम् अनावश्यक प्रदर्शनीले सामाजिक विभेद सिर्जना गरेको आरोप लगाइरहेका छन् ।

एकातर्फ,  नेपाली पुरुष जमात महिलाहरूको यी यस्तै स्वभावको निन्दा गर्दै ‘अरूले घोडा चढे भनेर आफू धुरी चढ्न खोज्नु’ नेपाली चेलीबेटी, दिदीबहिनी, फुपूभाउजुहरुको ईर्ष्यालु, अव्यवहारिक, मूर्ख एवं विवेकहीन हर्कत रहेको संज्ञा दिइरहेका छन् ।

अर्कोतर्फ, महिला अधिकारकर्मी तथा व्रतालुहरू तीजका विरुद्ध भडास पोख्ने नाममा आफ्ना आमा, दिदीबहिनी एवम् गृहलक्ष्मीलाई नकारात्मक विश्लेषण गर्नुले हाम्रो संस्कृति र परम्पराको रक्षा नभई उपहास भइरहेको बताइरहेका छन् । ‘पुरुष जाती महिला स्वतन्त्र भएर नाची खेली खाएको देख्न सक्दैन’ भन्ने आरोपहरू यस पक्षले लगाइरहेका छन् ।

अर्को हिसाबले हेर्ने हो भने यस्तो पनि देखिन्छ,

महिलाहरू तीजलाई आफ्नो स्वतन्त्राको भरपुर पक्षपोषण गर्ने अवधि ठान्दछन् भने पुरुषहरू तीजलाई ‘स्वास्नी माइत गई, अब आनन्द भयो’ भन्ने हिसाबले लिइरहेको भेटिन्छ । यस किसीमका तर्कहरूले  आपासी प्रेम र समझदारीमा निहित वैवाहिक (सामाजिक पनि) सम्बन्ध कुन हदसम्म बिग्रिदै छ भन्ने तर्फ सचेत गरेको प्रष्ट हुन् आउँछ । महिला एवम् पुरुष दुवैले आफ्नो स्वतन्त्रताको भरपुर पक्षपोषण गर्ने अवधिको रूपमा तीज लिनुले नेपाली समाजको कुन ऐना मुखारित गरिरहेको छ ? यसमानेमा तीज जस्ता पर्वहरूले महिला-पुरुषको खाडल पुर्नुपर्नेमा थप गहिरो बनाउँदै गएको हो ? भन्ने प्रश्न उब्जाउछ ।

आफू निकटका विज्ञ, साथीभाइ एवम् धार्मिक व्यक्तित्वहरूसँगको बसाउठीमा यिनै विषयमा रहेर गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ :

१. पहिलो व्यक्ति :

‘तीज के हो ?  मनाउँछौ ?’ 

“तीज महिलालाई सहानुभूति प्रकट गर्ने चाड हो भने- म मनाउँदिन ।”

‘किन ?’

“तीज अहिले पुँजीवादी बजारको साधन भराइछ ।”

‘कसरी ?’

“तीज (व्रत) को राजनीति अर्कै छ । यसले पृत्तिसत्तालाई प्रश्रय दिन्छ ।”

२.दोस्रो व्यक्ति :

‘व्रत बस्नु ठिक हो ?’

“हो, तर महिला मात्रै बस्नु ठिक होइन ।”

‘आफ्नो स्वेच्छाले, कसैको करकाप बेगर यदि कुनै नारी (आफ्नो पतिको चिरायुको कामना गर्दै) व्रत बस्नु चाहिँ ?’

“जब त्यो संस्कार हुन्छ, त्यहाँ स्वेच्छा हुँदैन । अनि अर्को कुरा पतिको चिरायुको कामना गर्नु आफैँमा गलत छैन । यहाँ हरेकले हरेकको चिरायुको कामना गर्न पाउँछ, तर यसमा एकै भाष्य पुनारावृति होइराख्नु भएन।”

‘किन सधैँ महिला ?  किन पुरुषका लागि महिला मात्रै ?’

“अहिले त एक प्रकारले हेर्दा यस्ता व्रतहरूले महिलालाई पुरुषको अन्धभक्त बनाउन खोजेजस्तै मात्रै पाउँछु म । १०८ जुनीसम्म पार्वतीले घोर तपस्या गरिन अरे त्यो भनेको के ? धर्म भन्दैमा त्यसैलाई अनुसरण गरिरहनु पर्छ र ?”

‘शिवले पनि लाखौँ वर्षसम्म मृत सतीको देह बोकेर हिडेका  थिए क्यारे।’

“खै मलाई यो सब थाहा छैन । व्रत बस्दा पुरुषभक्त  होइन्छ या पुरुषभक्ति देखिन्छ भने पुरुष नै बसुन् । समाज समावेशी हुनुपर्छ ।  यदी महिलालाई व्रत बस्दछन् (या समाजले बसाउँदछ भने) महिलाद्वारा नै यस परम्परालाई ब्यान्ड गर्दा हुन्छ ।”

तेस्रो व्यक्ति :

‘व्रत के हो ?’
“व्रत बस्नु भनेको शरीर अनि मस्तिष्कलाई आराम दिनु हो । सधैँ गरिरहने नियमित तालिकाबाट मुक्ति पाउनु हो । समग्र परिवार, विद्या, धन र बुद्धिका लागि व्रत गर्ने विधान बसेको हो । केही नखाई भोकभोकै बसी भगवानको पूजा गर्नुलाई मात्रैलाई ‘व्रत बस्नु’ भनिँदैन ।”

‘तर किन सधैँ महिला ? ‘

“प्राचीन परम्परालाई हेर्दा समग्र परिवार नै व्रत बस्दथे। खाद्य अभाव एवम् खाद्य संरक्षणको पनि कुरा थियो । त्यस समय पुरुषले घर बाहिरको काम गर्थे । यसकारण महिलाले गृह व्यवस्थापनका काम गर्ने प्रचलन बस्न थाल्यो । महिलाले घरलगायत धर्मकर्मका काम गर्न थालेपछि व्रत बस्ने जिम्मेवारी पनि दिइएको हो ।  प्रायः घरमा हिजोआज पनि धर्मकर्मका काम महिलाले नै त गर्छन् ।”

‘फेरी पनि  पुरुषका लागि महिला चाहिँ किन ?’

“यो धर्मको गलत अनुसरण हो ।  कुरुतिलाई अन्देखा गरिनुहुँदैन ।”

चौथो व्यक्ति: 

‘अहिलेका नारीहरू व्रत बस्न अस्वीकार गरेर ठिक गरिरहेका छन् ?’

“छैनन् । व्रतको महत्त्व बुझ्न जरुरी छ । यसले पाचन प्रक्रियाले आराम दिलाउँछ । शरीरमा इन्सुलिनको संवेदनशीलता  बढाउँछ ।  गुलियोको मात्रालाई नियन्त्रण गरी मधुमेहबाट बचाउँछ । आयु बढाउँदछ (जति धेरै खायो, शरीर बुढो हुने मात्रामा त्यति नै वृद्धि हुने प्रमाण भेटिएको छ) । व्रतले खानेबानीमा पनि त सुधार ल्याउँदछ ।

व्रत बस्नुको पछाडि फाइदा धेरै छन् ।  यसलाई यति विवादित बनाउनुको कुनै तुक छैन ।”

‘माथिको प्रश्नको उत्तर दिनुहोस्..।’

“व्रत बस्नुलाई अहिलेका नारीले उति साह्रो घृणित नजरले किन हेरिरहेका छन् मैले बुझेको छैन । जब कि नारीले परिवारको अभिभावकका रूपमा प्रतिनिधित्व गर्दछन् तब उनीहरू नै व्रत बस्दा परिवारमा सुखशान्ति रहन्छ भनेर यो अर्घेलो किन गर्नु ?”

‘पुरुषको सहभागिता सवालमा चाहिं ?’

“आवश्यक छ । समाजमा महिला जत्तिकै पुरुष पनि व्रत बसी दिने हो आधा समस्या त हल भइजान्थ्यो । पुरुषले आफ्नो सोच परिवर्तन गर्न जरुरी छ । ‘कसले कसलाई पाउन भन्दा पनि’ सकारात्मक उर्जा स्रोत हो-व्रत ।  यसैले नर-नारी दुवैले व्रत बस्नुपर्दछ भन्छु ।”

‘यस अर्थमा अहिले केही नारीवादीले उठाएजस्तो विभेदकारी छैन – यो  ‘व्रत परम्परा ?’

“छैन । तीजको मात्रै कुरा नगरौँ अन्य चाडपर्वमा पनि महिलाहरू व्रत बस्ने गर्दछन् । तर नसकेको बेला वा महिलाहरू रजस्वला भएका बेलामा पुरुषले पनि व्रत बसेका छन् । थोरै मात्रामा होला तर पुरुष पनि व्रत बस्ने गर्दछन् । बस्नु पर्दछ ।

प्रथमतः व्रत बस्नु पछाडिको महत्त्व र फाइदा बुझ्न जरुरी छ । व्रत बस्ने परम्परा(नारी पुरुष दुवैले)को विस्तार आवश्यक हो यत्तिखेर, यो लफडा अहिलेको आवश्यकता होइन ।”

५.पाँचौँ व्यक्ति:

‘तीज कसको हो त ?’

“तिज पुरुषको हो । समाजको हो । त्यो समाज जुन पितृसत्तात्मक छ । समाजमा महिलाको अस्तित्व नस्विकार्ने समाजको हो ।”

‘पुरुषको.. ?’

“यहाँ महिलाले श्रीमानको तथा परिवारको सुख समृद्धि तथा प्रगतिका लागि स्वस्थानी तथा तीजको कठोर व्रत बसी आफ्नो  समर्पण तथा माया साबित गर्नुपर्छ । लोग्ने आफ्नो साथीभाइसँग बियर उचाल्दै आफ्नो स्वास्नी व्रत बसेको कुरा सुनाउँदा खुसी हुन्छ ।”

‘यतिखेर गर्न पर्ने के हो ?’

“यतिखेर  पुरुषले भन्दा पनि महिलाले गर्नुपर्ने देख्छु म । श्रीमती आर्थिक, सामाजिक, राजनीतिक अनि कानुनी रूपमा सशक्त भई श्रीमानसँग सहकार्य गर्नु आजको आवश्यकता हो । 

व्रतलाई महिला सशक्तीकरणको एक बलियो माध्यम बनाउन सकिन्छ। तर त्यस भन्दा पहिले पुरुषले व्रतलाई महिलाको पेवा हो झैँ गरी बुझ्न र बुझाउन छाड्न पर्छ ।”

धार्मिक अनुयायीहरूको कुरा:


समग्रमा मनोकामना पूर्ण गराउने र सम्पूर्ण परिवारको कल्याणका लागि यस्ता विभिन्न पर्व र व्रतको प्रयोजन रहेको धर्मशास्त्रीहरूको मत छ । आत्मावादी र ईश्वरवादी दुवैले यस्ता व्रत लिनु समाजको हितमा रहेको तर्क अघि सार्छन् । तीजको व्रत हिन्दु मात्रका लागि नभई सम्पूर्ण मानव जगतका लागि भएको कुरा धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको पनि उनीहरूले सुनाए ।

अन्त्यमा,

समय परिवर्तन भयो (हुँदैछ) ।  नेपाली नारीहरू सोही मात्रामा अहिले परिवारद्वारा शोषित छैनन् । अहिले त्यो अवस्था घट्दै गएको छ । पूर्णत घटेको होइन, कम हुँदै छ मात्रै भनेको । घरेलु हिँसा लगायतका हिँसाहरूको सम्बोधन गर्नका लागि पर्वहरू उपयुक्त विकल्प हुन् । तीज यस मानेमा अझ महत्त्वपूर्ण छ । ( हिँसा सम्बोधन गर्नका लागि पर्व नै कुर्नुपर्ने औचित्य छैन, तर न्यूनीकरण साध्यको रुपमा मात्रै ।)

तीज नारीहरूको नै पर्व हो, यसमानेमा हो कि उनीहरू यतिखेर आफूलाई स्वतन्त्र पाउँछन् । स्वतन्त्र हुनलाई तीजका केही दिनहरू पर्खनु पर्नु बिडम्बना हो ।  कटु यथार्तता हो ।

साथै, तीजको अवसरमा बेताले, बेअर्थी गीतहरू गाउनु भन्दा नारी हक र समानताका कुराहरूलाई तीज गीतमार्फत अगाडी सारौँ । दर खान भेला हुँदा समयक्रमसँगै समाजमा के-कस्ता विकृति, विसङ्गति र समस्याहरू देखिएका छन् त्यसबारे छलफल गरौँ। कुनै समस्याले सम्बोधन पाउनको लागि पीडक (पुरुष) र पिडीत (महिला) दुवै पक्ष एकापासमा आउनुपर्छ, तीजले त्यो काम गर्दछ । यस मानेमा पनि तीजलाई अर्थ दिलाऔँ ।

‘महिला सबैभन्दा लामो दु”ख हो’, यसलाई सम्बोधन गर्नका खातिर यो महत्त्वपूर्ण पर्वमा अन्य किचलो छाडेर नर-नारी हितका कुरा गर्दै तीज मनाऔँ । नित्य हुने बहस, भेटघाट, गन्थन-मन्थनबाट सामाजिक विभेद, लैंगिक विभेद, महिनावारी विभेद लगायतका अनेकन समस्याहरूलाई केलाउँदै संस्कृतिलाई गतिशिल बनाउन खोजौं । संस्कृति गतिशील बन्नु भनेको समाज गतिशील बन्नु हो । यसमा कसैलाई हानी छैन ।  

यस क्रममा हामीलाई न अध्यात्मवादको दास बन्न आवश्यक छ, न उपभोक्तावादको कठपुतली बन्न नै । कुनै पनि पर्व सामाजिक अहितकारी तत्त्व होइन र हुँदैन पनि, बनाउनु हुँदैन । बस् हामीले नकारात्मक पक्ष र सकारात्मक पक्ष केलाउँदै त्यसको व्यवहारिक एवम् वैज्ञानिक पक्षको जाँचबुझ गरी पर्वको मर्म मर्न दिनु भएन ।

नेपाली नारीहरूको महान् पर्व तीजको सबैमा शुभकामना !!

सम्बन्धित खबर