काठमाडौं । मोहम्मद नवाजले अन्तिम ओभरमा नो बल फालेपछि टी–२० विश्वकपमा पाकिस्तानले भारतसँग ४ विकेटको हार ब्यहोरेको छ । १६० रनको लक्ष्य पछ्याएको भारतलाई अन्तिम ओभरमा १६ रन आवश्यक थियो ।
सुरुवाती तीन बलमा २ रन खर्चेर हार्दिक पाण्ड्याको विकेट लिएका नवाजले पाकिस्तानलाई जितको आशा दिलाएका थिए । तर, चौथो बलमा नवाजले फालेको नो बलमा भारतका पूर्व कप्तान विराट कोहलीले छक्का प्रहार गरेपछि भारतलाई जित सहज भएको हो ।
अन्तिम १ बलमा भारतलाई २ रन आवश्यक थियो । तर, नवाजले वाइड बल फाले र स्कोर बराबरी भयो र भारतले थप एक बल खेल्न पायो । यो अवसरलाई सदुपयोग गर्दै रविचन्द्रन आश्विनले १ रन बनाएर भारतलाई जिताए ।
भारत र पाकिस्तानबीचको खेल विश्व क्रिकेटमा सधैं बहुप्रतिक्षीत रहने गर्छ । विश्वकपमा पाकिस्तानसँग विरलै हारेको भारतले रोमान्चक अन्तिम ओभरमा जित हासिल गरेको हो ।
भारतलाई जिताउन सुपरस्टार कोहलीले अविजित ८२ रनको योगदान गरे । उनले ५३ बलमा ४ छक्का र ६ चौका हिर्काए ।
यसअघि मेलवर्न क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल खडा गरेको थियो ।