दोहा । गैरआवासीय नेपाली संघ कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानमाथि कोषको रकममा ठूलो आर्थिक अनियमितता गरेको आरोप लागेको छ । कतारमा करिव तीन लाख ५० हजार नेपालीको साझा संस्थाको रुपमा रहेको एनआरएनएमा यति ठूलो घोटाला भएको खबर आएको हो ।
कतारको एनसीसीकै इतिहासमा दोहोरियर नेतृत्व लिएका मुक्तदाले पहिलो परिषद् भेलामा समेत आर्थिक पारादर्शिता नगरेको परिषद् सदस्यहरुको गुनासो छ । १० हजार परिषद् सदस्य भएको एनसीसी कतारले जुम भर्चुवल माध्यमबाट एक सय जनाको मात्र क्षमता भएको लिंक उपलव्ध गराई शंकास्पद रुपमा दोस्रो परिषद् भेला सम्पन्न गरेको थियो ।
एनसीसी कतारको कोषमा करिव सात लाख कतारी रियाल रहेको र उक्त भेला सकिंदासम्म पनि आर्थिक प्रतिवेदनलाई पारदर्शी नगरी हचुवाको भरमा प्रतिवेदन पेस गरेर परिषद्लाई गुपचुपमा राखी पारित गरेपछि उनीमाथि झनै शंका उत्पन्न भएको सदस्यहरुले नै बताएका छन् । परिषद् सदस्यहरुले बैक स्टेटमेन्ट माग्दा समेत आईसीसी पदाधिकारीहरु आरके शर्मा, नरेन्द्र भाट, राज रेग्मी, प्रविण गुरुङ, होमनाथ शर्मा, अव्दुल वासिद, केवी हमाललगायत आईसीसी सदस्यहरु समेतको सहायतामा आर्थिक प्रतिवेदन पास गरिएको थियो ।
कोरोनाबाट प्रभावित श्रमिकहरुलाई सहयोग तथा उद्धारका लागि आईसीसीमार्फत आइएलओबाट प्राप्त दुई लाख रियालमा समेत घोटाला गरिएको छ । जसमध्ये ३८ हजार रियालको सामाग्री खरिद गर्ने भनेर केही आईसीसीका पदाधिकारीहरुको समेत हस्ताक्षर गराइएको थियो । बाँकी एक लाख ४१ हजार रकम आईसीसीलाई फिर्ता गर्ने भनिएपनि उक्त रकम फिर्ता नगरिएको सदस्यहरुले बताएका छन् । कतार च्यारिटी र कतार रेडक्रसले कोरानाबाट प्रभावित श्रमिकहरुलाई वितरणको लागि कतारको हरेक कम्युनिटिलाई निःशुल्क उपलब्ध गराएका खाद्यान्न सामाग्रीहरुमा समेत मुक्तदा र कोषाध्यक्ष बिनोद बस्यौलाको मिलेमतोमा अल्मिरा सुपरमार्केटबाट नक्कली बील बनाई आईसीसीलाई उपलव्ध गराइएको खुलेको छ ।
त्यसैगरी कोरोनाको समयमा नेपालमा समस्यामा परेकाहरुका लागि आईसीसीबाट चालिएको अक्सिजन प्लान्ट अभियानका लागि मध्यपूर्व एनआरएनए एनसीसीहरुबाट पनि संकलन गरि रकम पठाउने क्रममा सबै एनसीसीहरुले पठाइसक्दा समेत एनआरएनए एनसीसी कतारका अध्यक्ष मुक्तदाले भने कतारी रियाल एक लाख ६३ हजार रकम हालसम्म नपठाएको खुलेको छ । जुन कुरा कतारका रहेका आईसीसीका पदाधिकारीहरुलाई समेत जानकारी नगराई अन्यौलमा रोखिएको स्रोतले जानकारी दिएको छ । उक्त अक्सिजन प्लान्टका लागि भनेर संकलन गरिएको रकम परिषद् सदस्यहरुलाई गुमराहमा राखी मुक्तदा आफैले व्यक्तिगत प्रयोजनको लागि प्रयोग गरेको पाइएको छ । कतारका स्थापित सामाजिक संघसंस्थाहरु, व्यवसायी, समाजसेवीलगायतले अक्सिजन प्लान्टका लागि रकम सहयोग गरेका थिए । उक्त रकम अक्सिजन प्लान्टका लागि नेपाल पठाउनु पर्नेमा करिव डेढ वर्षसम्म नीजि प्रयोजनको लागि प्रयोग गरी हाल आईसीसी अध्यक्ष रविना थापाको संयोजकत्वमा बनेको समितिमार्फत एकल निर्णय गराई मुक्तदाले आफ्नो गृह जिल्लामा पठाउने तयारी गरेका छन् । विभिन्न संघसंस्थाबाट सहयोगस्वरुप प्राप्त रकमहरु तथा कतार सरकारको अनुरोधमा गरेका सांस्कृतिक कार्यक्रमहरुबाट एनसीसी कतारले प्राप्त गरेका रकमहरुमा समेत पारदर्शीता नदेखाइ मुक्तदाले परिषद् सदस्यहरुलाई गुपचुपमा राखेका छन् ।
नेपाल सरकारका तत्कालिन श्रममन्त्री किसान श्रेष्ठ कतार जाँदा अफ्नो मेनपावर व्यावासायीलाई फस्टाउन उच्चस्तरिय भिसाको एप्रुभल दिलाउन मुक्तदाले कतारको ५ तारे होटलमा राखेर एनसीसी कतारको कोषबाट खर्च गरेको पनि खुलेको छ । एनआरएनए एनसीसी कतारका दुई कार्यकाल सम्हालेका मुक्तदाले तीन वर्ष अगाडि सञ्चालन गरिएको द टनेल लन्ज एण्ड बारमा कोषाध्यक्ष बिनोद बस्यौलालाई ५ प्रतिशत र केहि पदाधिकारीहरुलाई केही प्रतिशत सेयर दिएको पनि खुलेको छ । मुक्तदाले एनसीसी कतारकै कोषबाट टनेल बारमा लगानी गरेको आरोप लागेको छ ।
कोषाध्यक्ष बस्यौलालाई मुक्तदाले ठूलो आर्थिक प्रलोभनमा पारी आफ्नै कम्पनीबाट भिसा निकाली कतार ल्याएको र एनसीसी कतारकै कोषको रकम प्रयोग गरि कम्पनी खोलिदिएको स्रोतले बताएको छ । साथै मुक्तदाले दोहामा एनआरएन अभियान्ता तथा समाजका दिग्गज व्यक्तिलाई समेत संलग्न गराई सप्लाई कम्पनी खोलेर भिषा बेचविखन गरेको स्रोतले जानकारी दिएको छ । त्यसैगरी २ महिना अगाडि सञ्चालन गरिएको नज्मा स्थित ओल्ड दरवार रेष्टुरेष्टमा समेत एनसीसी कतारकै कोषबाटै लगानी गरिएको स्रोतको भनाई छ ।
अक्टुवर २१, २०२२ मा नेपाली राजदूतावासको हलमा एनआरएन एनसीसी कतारको आयोजनामा दशै, तिहार, नेपाल संवत, छठलगायतका पर्वहरुको शुभकामना आदानप्रदान कार्यक्रम गरिएको थियो ।
अतिथिले मन्तव्य दिने क्रममा आफु सभापति र नेपाली राजदूत प्रमुख अतिथि रहेको कार्यक्रममा अतिथिको पोडियममा गएर गुण्डागर्दी पाराले माइक खोसेपछि मुक्तदा अझै विवादित बनेका छन् । साथै बेलाबेलामा एनसीसीका अध्यक्ष मुक्तदाले आफूलाई कतारको डन भन्दै श्रमीकहरुलाई नै धम्की दिने र संघसंस्थाहरुलाई आर्थिक सहयोग गर्छु भनेर प्रमुख अतिथि खाने जस्ता गलत कृयाकलाप गरी एनआरएनए जस्तो गरिमामय संस्थाको बद्नाम गरेको स्रोत बताउँछ ।