बाख्राले बाली खाएको रिसमा खुर्पा प्रहार गरी एक वृद्धाको हत्या

दियोपोस्ट संवाददाता

काठमाडौं । धादिङमा बाख्राले बाली खाएको रिसमा खुर्पा प्रहारबाट एक वृद्धाको हत्या भएको छ ।

जिल्लाको धादिङको नेत्रावती डबजोङ गाउँपालिका–४ हल्दारेमा ७२ वर्षीया सुकमाया गुरुङमाथि खुर्पा प्रहार गरी हत्या गर्दा एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका ३६ वर्षीय मंगल गुरुङ रहेका छन् । सुकमाया आफ्नै घरनजिक सडकमा शरीरका विभिन्न भागमा क्षतविक्षत गरी काटिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताएका छन् ।

सुकमाया र मंगल नाताले गाउँले काकी र भतिज थिए । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले भने, ‘पहिल्यैदेखिको पारिवारिक रिसइवि र बाख्राले बाली खाएको रिसमा खुर्पा प्रहार गरी हत्या गरेका हुन् । अपशब्द बोल्ने र सधैँ हेप्ने भएकाले सहनै नसकेर हत्या गरेको उनले स्वीकार गरेका छन् ।’

प्रारम्भिक अनुसन्धानको क्रममा मंगलको संलग्नता रहेको खुल्न आएपछि शुक्रबार साँझ उनलाई पक्राउ गरेको र घटनाको थप अनुसन्धान भइरहेको मिश्रले बताए ।

सम्बन्धित खबर

सिफारिस