अवैध लागूऔषधसहित २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बुद्धशान्ती गाउँपालिका–४ बस्ने ३६ वर्षीय सुरज थेवे र शिवसताक्षी नगरपालिका–७ बस्ने ४२ वर्षीय अमृत श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा सुरजको साथबाट उक्त लागूऔषध बरामद गरी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरी सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१४ डलुवाबाट अवैध लागूऔषध गाँजा करिब १ सय केजी सोमबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी रामपुरमल्हनियाबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ ४ जना व्यक्तिहरूले टाउकोमा बोकेको बोरा फाली फरार भएपश्चात् प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । हाल फरार व्यक्तिहरुको खोजी भइरहेको छ ।

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।