छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । सिरहाको गोलबजार नगरपालिका–९ स्थित सडकमा राजबिराजबाट जनकपुरतर्फ जाँदै गरेको ना.४ ख ७१८७ नम्बरको बस अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा मिर्चैया नगरपालिका–२ मल्हनिया बस्ने ४० वर्षीय राज कुमार सदा र बसका सह–चालक धनुषा जनकपुर उपमहानगरपालिका–२० बस्ने ५२ वर्षीय अनिल झा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई उपचारको लागि प्रादेशिक अस्पताल लहानतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मध्ये ९ जनाको भुमिजा अस्पताल गोलबजारमा, ४ जनाको लङ लाईफ अस्पताल गोलबजारमा, १ जनाको रिलाईफ हेल्थ केयर लहानमा, १ जनाको जनकपुरमा उपचार भइरहेको र ६ जनालाई उपचारको लागि विराटनगर नर्सिङहोमतर्फ रिफर गरिएको छ । साथै दुर्घटनामा घाइते भएका ३ जना उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जना उपचारको लागि भारतको पटनातर्फ गएका छन् । बस चालकलई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रोल्पाको रोल्पा नगरपालिका–१ भदौरे मोडस्थित सडकमा दाङबाट लिवाङतर्फ जाँदै गरको ई.जि.कन्ट्रक्सन प्रालि दाङको रा.१ क ११८७ नम्बरको जेसीबीको ब्रेक फेल भई आइतबार दिउँसो दुर्घटना हुँदा सह–चालकको मृत्यु भएको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ राप्ती गाउँपालिका–३ मसुरिया बस्ने २२ वर्षीय अमृत चौधरीको घटनास्थलमै मृत्यु भएको छ । जेसीबी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।