काठमाडौं । राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार दिउँसो २ बजेर ४० मिनेटमा बझाङ केन्द्रविन्दु भएर ५.३ रेक्टरस्केलको भूकम्पले पश्चिम नेपालका विभिन्न जिल्लामा क्षति पुर्याएको छ ।
त्यसको २६ मिनेटपछि ३ बजेर ६ मिनेटमा बझाङमै केन्द्रविन्दु भएर ६.३ रेक्टरस्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।
भूकम्पका कारण अहिलेसम्म बझाङका दुर्गाथली गाउँपालिका, तल्कोट गाउँपालिका, जयपृथ्वी नगरपालिका, खप्तडछान्ना गाउँपालिकाका विभिन्न पुराना सरकारी कार्यालय, विद्यालयहरु र घरहरु भत्किएका छन् ।
‘खोड्पे–चैनपुर सडकको जयपृथ्वी नगरपालिका–७ को कचरी खोलामा सुख्खा पहिरो आएर सडक अवरुद्ध भएको छ,’ उनले भने, ‘मानवीय संकटको अवस्था भएको जानकारी आएको छैन । हामी तैनाथ छौं । अहिलेसम्म परिचालन गर्नुपर्ने अवस्था आएको छैन,’ बझाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) नारायण पाण्डेयले बताए । भूकम्पका कारण पहिरो जाँदा २ जना घाइते भएको पनि बताइएको छ ।
भूकम्पले के कति क्षति भयो भन्ने विवरण अझै आउन बाँकी छ ।