काठमाडौं । मलेसिया लगायत खाडि मुलुक जाने कामदारका लागि सरकारले ‘फ्रि भिसा, फ्रि टिकट’ लागू भएको बताइरहँदा लाखौं रकम तिरेर मलेसिया पुगेका आठ नेपाली बिचल्लीमा परेका छन् ।
काठमाडौंमा रहेको मोभिरा एचआर, अस्टी ग्लोबल र गोरखा म्यानपावरबाट विभिन्न समयमा त्यहाँ पुगेका उनीहरुलाई कम्पनीले काम नदिएपछि अहिले विगत दुई–तीन महिनादेखि बिनातलब कोठामै बस्न बाध्य भएको त्यसमध्येका एक जना सिन्धुलीका बिसुराज वाइबाले जानकारी दिए ।
मेनपावरलाई मोटो पैसा बुझाएर मलेसियाको एक कम्पनीमा ‘क्लिनर’ कामका लागि पठाएको भए पनि त्यहाँ उनीहरुलाई केही महिना होटलमा काम लगाएको र अहिले होटलबाट निकाली दिएपछि कामविहीन भएर बसेको वाइवाले बताए ।
उनीहरुले एक भिडियो सन्देश जारी गर्दै कम्पनीले लामो समयदेखि काम नदिएको, कोठामा एसी वा पंखा नभएको, बेंसी तलब पनि नदिएको, खानाको पनि समस्या भएको र ट्वाइलेटको पानी पिएर बसिरहेको बताएका छन् ।
मेनपावर कम्पनीले राम्रो कमाइ हुने प्रलोभन दिएर आफूहरुसँग २ लाख ६० हजार रुपैयाँसम्म असुल गरेर यहाँ पठाएको उनीहरुलपे बताए । ‘ऋण काटेर विदेश आइयो, यहाँ धन कमाउने त कता हो कता खाने बस्नेसम्म टुंगो छैन,’ वाइबाले भने, ‘यहाँ आएको ऋण तिर्नै बाँकी छ, यता नेपाल घर परिवारलाई के पठाउने परिवार पनि पीडामा छन् ।’
आजको राजधानी पत्रिकामा खबर छ ।