
काठमाडौं । न्युरोडमा इन्द्रजात्रा हेर्न गएका किशोरको हत्यामा संलग्न रहेका ४ जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
ओखलढुंगा लिखु गाउँपालिका–४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको सोमबार राति साढे ११ बजे धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो।
उक्त घटनामा संलग्न भएको आरोपमा काठमाडौं प्रहरी परिसरले ४ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो ।
प्रहरी परिसरका अनुसार किशोरमाथि धारिलो हतियार प्रहार गरी भाग्न लागेको अवस्थामा काठमाडौं महानगरपालिका–१९ घर भई हाल ललिपुरको लुकुसी बस्ने २० वर्षीया सोनिया श्रेष्ठ र ललितपुर महानगरपालिका–१९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्कीलाई सोही राति काठमाडौं महानगरपालिका–२४ मखनबाट पक्राउ गरेको हो ।
यसैगरी मकवानपुरको हेटौंडा उपमहानगरपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–२४ कि १९ वर्षीया भूमी मल्ल र ललितपुरको गोदावरी नगरपालिका–५ घर भई हाल नागबहाल बस्ने १९ वर्षीय अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका–१६ बाट पक्राउ गरिएको परिसरले जानकारी दिएको छ।
प्रहरीले ठकुरीको साथबाट घटनामा प्रयोग भएको धारिलो हतियार (चक्कु) समेत बरामद गरेको छ।
प्रहरी परिसरका अनुसार काठमाडौं जिल्ला अदालतबाट सन्देश खड्की र सोनिया श्रेष्ठ खड्कीविरूद्ध असोज १५ गतेदेखि लागु हुनेगरी ६ दिन र भूमी मल्ल र अरबिन ठकुरीविरूद्ध १६ गतेदेखि लागु हुनेगरी ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।