अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको विभिन्न मुद्रासहित अमेरिकी नागरिक पक्राउ

दियो पोस्ट  

काठमाडौं । अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न मुद्रासहित अमेरिकी नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ सय १५ अमेरीकी डलर, ४४ सिंगापुर डलर, २० हजार ९ सय ९० थाई भाट, २८ हजार १० भारतीय रूपैयाँ, ६ लाख ७ हजार ४ सय ९६ नेपाली रूपैयाँ र नेपाली लगायत विभिन्न भाषामा उल्लेखित रकम खुल्न नसकेका प्राचिन मुद्राहरु ६४ थानसहित ७० वर्षीय अमेरीकी नागरिक डेभिड एलन हार्वुडलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

थाई उडानद्वारा काठमाडौंबाट बैंकक जान लागेका उनलाई विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान होल्ड व्यागेज चेकिङ एरियामा जाँच तथा तलासी गर्ने क्रममा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट अवैध रुपमा लुकाई छिपाई बाहिरी मुलुकतर्फ लैजान लागेको अवस्थामा विभिन्न दर र सिक्कामा रहेका उक्त मुद्रासहित फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाही तथा अनुसन्धानको लागि भन्सार कार्यालयमा बुझाइने छ ।