छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटनामा ३ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानमा सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालका–४ लोहन्द्रा पुलस्थित सडकमा को.२३ प ५१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा घनपालथान गाउँपालिका–७ बस्ने २५ वर्षीय रवि मण्डल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ बाँके जंगलस्थित सडकमा बागमती प्रदेश ०१–०२८ च ६४५७ नम्बरको पिकअप गाडीले हाल नम्बर नखुलेको अनटेस्ट स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ । महोतरी बर्दिबास नगरपालिका–३ बस्ने ४५ वर्षीय काजी कुमार कार्कीको मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

साथै धनुषाको लक्ष्मिनिया गाउँपालिका–४ सपहीस्थित सडकमा प्र.२–०२–००४ प ४८७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङजा वालिङ नगरपालिका बस्ने ३९ वर्षीय लक्ष्मण भट्टराई रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको उपचार भइरहेको छ ।

सवै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।