छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ७ हजार २ सय ८० ट्याब्लेटसहित एक जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही नगरपालिका–९ बस्ने ५० वर्षीय मित्र बहादुर राई रेका छन् । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.३ प ९९०१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी चालक राईलाई पक्राउ गरेको हो ।

यसैगरी सप्तरीको सुरुङ्गा नगरपालिका–३ भुसिमलहनियाबाट अवैध लागूऔषध गाँजा करिब १५ केजीसहित एक जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा लहान नगरपालिका–१७ एकरतिया बस्ने ५८ वर्षीय बद्रि नारायण चौधरी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

साथै झापाको दमक नगरपालिका–३ गुरुङ डाँडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने बस्तु ८ सय मिलिग्रामसहित एक जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २० वर्षीय उमेश गुप्ता रहेका छन् । प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त वस्तुसहित पक्राउ गरेको हो ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।