बीआरआईलाई कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने छौँ: प्रधानमन्त्री प्रचण्ड

दियोपोस्ट संवाददाता

काठमाडौं ।  चीनले अघि सारेको बीआरआई परियोजनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयबद्ध कार्यतालिका बनाएर कार्यान्वयन प्रक्रिया अघि बढाउने बताएका छन् ।

बीआरआई परियोजना सुरु भएको एक दशक पुगेको अवसरमा नेपाल–चीन फ्रेण्डसिप फोरमले आइतबार काठमाडौंको याक एण्ड यतीमा ‘व्यापार, लगानी र सम्पर्क सन्जाल सम्बन्ध’को विषयमा आयोजना गरेको अन्तर्क्रियामा प्रधानमन्त्री प्रचण्डले उक्त धारणा राखेका हुन् ।

बीआरआई परियोजना अघि बढाउन केही ढिलाइ भएको प्रसंगमा प्रधानमन्त्री प्रचण्डले कोभिड महामारी, प्रणाली र संरचनागत सीमाहरूको जिम्मेवार रहेको बताएका छन् । चिनियाँ पक्षले लगानीसम्बन्धी आफ्नो नीतिमा पुनर्विचार गर्दै कतिपय परियोजनामा अनुदान र सहायताको नीति लिने उनको विश्वास छ ।

‘हामी वर्तमान र भविष्यमा समेत एक चीन नीतिप्रति दृढ रहनेछौं । नेपाली भूमि चीनविरोधी गतिविधिमा प्रयोग गर्न दिइने छैन । यो नेपाल सरकारको प्रष्ट दृष्टिकोण हो । संयुक्त राष्ट्रसंघको उद्देश्य तथा सिद्धान्त र पञ्चशीलका सिद्धान्तमा आधारित नेपाल-चीन सम्बन्ध यस क्षेत्रकै शान्ति, स्थायित्व र समृद्धिका लागि महत्वपूर्ण छ । हामी त्यसै उद्देश्य प्राप्तिमा निरन्तर लाग्नेछौँ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

उनले चीन भ्रमणका बेला भएका १३ बुँदे समझदारी र सम्झौताले राजनीतिक र जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

सम्बन्धित खबर

सिफारिस