छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । कालिकोटको खाँडाचक्र नगरपालिका–२ बाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ ग्राम १ सय ५० मिलिग्रामसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा भारत घर भएका २५ वर्षीय अबिशेक कुमार कस्यापसहित ३ जना रहेका छन् । अस्थायी प्रहरी पोष्ट हुल्मबाट खटिएको प्रहरी टोलीले सोही नगरपालिकाको जितेगडाबाट मान्मतर्फ जाँदै गरेको भे.१ च ४३९१ नम्बरको बलेरो गाडीलाई जाँच गर्ने क्रममा सोही गाडीमा सवार उनीहरुलाई उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो ।

यसैगरी काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–३ बुढानिलकण्ठ मन्दिर नजिकैबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–५ बिष्णुमती बस्ने सुनसरी धरान उपमहानगरपालिका–१२ घर भएका २० वर्षीय समिर राई (सन्दिप) रहेका छन् । प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त पदार्थसहित सोमबार दिउँसो पक्राउ गरेको हो । साथै अनुसन्धानको क्रममा लागूऔषध ओसारपसारमा संलग्न रहेको खुल्न आएका अन्य २ जनालाई समेत काठमाडौं चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी सिरहाको सुखिपुर नगरपालिका–४ क्याबलाशीबाट अवैध लागूऔषध गाँजा करिब ९ केजी सोमबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी सिलौर्वापछवारीबाट गस्तीमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ हाल नम्बर नखुलेको मोटरसाइकलका चालकले ल्याउँदै गरेको बोरा फाली फरार भएका थिए । फरार भएपश्चात जाँच गर्दा उक्त लागूऔषध फेला पारी बरामद गरेको हो ।

सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।