छुट्टाछुट्टै ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । रूपन्देहीको देवदह नगरपालिका–६ सटक खोलास्थित सडकमा लु.२२ प ३९८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–६ सटक खोला बस्ने १८ वर्षीय मनोज मगर रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

यसैगरी सप्तरीको कन्चनरूप नगरपालिका–२ बरमझियास्थित सडकमा प्र.२–०३– ००१ ख १०१० नम्बरको बसले ठक्कर दिँदा एकजना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने राज कुमार गुप्ताको छोरा ७ वर्षीय योगेन्द्र गुप्ता रहेका छन् । बसको ठक्करबाट गम्भीर घाइते भएका उनको गजेन्द्र नारायण अस्पताल राजबिराजमा उपचारको क्रममा बुधबार बेलुकी मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।