छुट्टाछुट्टै ठाउँबाट अवैध लागूऔषधसहित ८ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाउँबाट अवैध लागू औषधसहित ८ जना पक्राउ परेका छन् । मोरङको विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ २ ग्राम ६८ मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने मा सोही महानगरपालिका–५ बस्ने ३२ वर्षीय सुरज तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोली ले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित बुधबार बेलुकी पक्राउ गरेको हो ।

यसैगरी झापाको मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १० ग्राम ५ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन भरतपुर महानगरपालिका–१२ घर भएका ३९ वर्षीय विशाल पाण्डे रहेका छन् । बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.७ प २७१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा पाण्डेलाई उक्त पदार्थसहित बुधबार बेलुकी पक्राउ गरेको हो ।

यसैगरी दाङको घोराही उपमहानगरपालिका–११ नयाँ बस्तीस्थित कात्तिके सामुदायिक जंगलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेसोही उपमहानगरपालिका–११ शिवपुर बस्ने २६ वर्षीय भिमसेन खड्का रहेका छन् । खड्काले विक्री वितरण गर्ने उद्देश्यले उक्त जंगलमा लागूऔषध राखेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बेलझुण्डी र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित बुधबार बेलुकी पक्राउ गरेको हो ।

साथै मकवानपुरको मनहरी गाउँपालिका–७ रमौलीबाट अवैध लागूऔषध गाँजा करिब १ सय ५० केजीसहित ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३० वर्षीय रामशरण चेपाङसहित ४ जना रहेका छन् । ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले उनीहरूलाई उक्त परिमाणको गाँजा लुकाई छिपाई बोरामा लैजाँदै गरेको अवस्थामा बुधबार राति पक्राउ गरेको हो ।

यसैगरी महोत्तरीको जलेश्वर नगरपालिका–१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ४ सय ५ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–२ बस्ने २२ वर्षीय विशाल थिङ्ग रहेका छन् । अस्थायी प्रहरी पोष्ट नगरपालिकाबाट खटिएको प्रहरी टोलीले जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना.६ ख ७३७४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा २७ वटा पोकामा लुकाइ छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकका सह–चालक विशाललाई बुधबार राति पक्राउ गरेको हो । हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ ।

साथै बारामा महागढीमाई नगरपालिका–६ बबुआईनबाट अवैध लागूऔषध गाँजा करिब २९ केजी बुधबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी गंजभवानीपुर र प्रहरी चौकी बरियारपुरबाट खटिएको संयुक्त टोलीलाई देख्नासाथ प्र.२–०३–०२२ प ४५३५ नम्बरको मोटरसाइकलमा सवार व्यक्तिले मोटरसाइकलमा ल्याउँदै गरेको बोरा फाली फरार भएका थिए । फरार भएपश्चात प्रहरीले बोरा तलासी गर्दा उक्त परिमाणको गाँजा फेला पारेको हो । साथै प्रहरीले खोजी गर्ने क्रममा महागढीमाई नगरपालिका–११ मधुरी टोलस्थित बाँसघारीमा लुकाइ राखेको अवस्थामा उक्त मोटरसाइकल फेला परेको छ भने फरार व्यक्तिको खोजी भइरहेको छ ।

सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।