६० किलो सुन तस्करी प्रकरणः कहाँ पुग्यो थप अनुसन्धान ?

थप अनुसन्धानका लागि डीएसपीको कमाण्डमा टोली गठन

दियो पोस्ट  

काठमाडौं । गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर बाहिरिएको ६० किलोभन्दा बढी सुनको थप अनुसन्धान जारी छ । अहिलेसम्म उक्त प्रकरणमा २९ जनालाई प्रतिवादी बनाउँदै सीआईबीले मुद्दा बुझाइ सकेको छ । प्रतिवादीहरुलाई भन्सार छली र संगठित अपराधमा मुद्दा दायर गरिएको थियो। जसमा ३ अर्ब ५० करोड ३० लाख रुपैयाँको बिगो दाबी समेत गरिएको छ । प्रतिवादी बनाइएकामध्ये २५ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार चलान समेत गरेको छ ।

सीआईबीको अनुसन्धानमा प्रतिवादी बनाइएकाहरुको समूहले नै ३६२ किलो सुन तस्करी गरेर ल्याएको खुलेको थियो। तर उक्त सुन कहाँ गयो भन्ने बारे भने पत्ता लगाउन सकेको छैन ।

आज मात्रै उक्त प्रकरणमा थप अनुुसन्धाका लागि डीएसपीको कमाण्डमा टोली बनाइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले डीएसपी धर्मराज भण्डारी नेतृत्वको टोली बनाएर थप अनुसन्धान गर्न जिम्मा दिएको हाे। सीआईबी स्रोतका अनुसार भण्डारीको कमाण्डमा पाँच सदस्यीय टोली बनाएर बाँकी अनुसन्धानको जिम्मा दिइएको छ।

६० दिनको म्यादका कारण यसअघि नै मुद्दा बुझाइ पनि यो प्रकरणको अनुसन्धान बाँकी नै रहेकाले अनुसन्धानलाई निरन्तरता दिन डीएसपीको कमाण्डमा टोली बनाइएको हो ।