समाचार रोक्न वनमन्त्री शाहीको दबाव, टेलिफोनमार्फत भाई जनराजको घुमाउरो धम्की (भिडियाेसहित)

दियोपोस्ट संवाददाता  

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले आफूविरुद्धको समाचार रोक्न सचिवालयमार्फत दियोपोस्टलाई दबाव दिएका छन् ।  निजी सचिवालय अधिकृत एवम् भाई जनराज शाहीलाई फोन गर्न लगाएर उनले समाचार रोक्न दबाव दिएका हुन् । जनराजले घुमाउरो रुपमा दियोपोस्टलाई धम्कीसमेत दिएका छन् ।

केही दिनअघि मात्रै मन्त्री शाहीले करङ भाँचिएको बिरामीलाई विमानस्थलको धावनमार्गमै अलपत्र छाडेर हवाई यात्रा गरेको विषयमा दियोपोस्टले समाचार प्रकाशित गरेको थियो । ‘आफ्नै गाउँको बिरामीलाई विमानस्थलमा अलपत्र छाडेर वनमन्त्री शाही जहाजमा सरर’ शीर्षकको समाचार दियोपोस्टले कार्तिक ७ गते समाचार प्रकाशित गरेको गियो । मन्त्री शाहीका भाइ जनकराजले फोन गरेर भने, ‘मन्त्री ज्यूले बिरामीलाई अलपत्र पारेको भनेर सामाचार प्रकाशित हुँदा नकारात्मक सन्देश गएको छ, समाचार रोकेर सहयोग गरिदिनुपर्यो ।’ निजी सचिवालय अधिकृत एवम् भाई जनराज शाहीले कर्णालीले लामो समयपछि मन्त्री पाएकोमा गर्व गर्नुपर्ने र आलोचना गरेर अपमान गर्न नहुनेसमेत बताए ।

मन्त्री शाहीले ताल्चा विमानस्थलबाट नेपालगञ्जका लागि छुट्दा आफूले बिरामीका लागि तारा एअरको जहाजको व्यवस्था गरिदिएको दाबी गरेका छन् । तर मन्त्री शाहीले भनेजस्तो बिरामी दानबहादुर विकका लागि टिकट व्यवस्थापनमा कुनै प्रवन्ध नमिलाएको बुझिएको छ ।

मन्त्री शाहीले टिकटको सन्दर्भमा कुनै सम्पर्क नगरेको तारा एयरको मुगुका लागि उडान भर्दै आएको हिमाली टुर्स एण्ड ट्राभल्सका मार्केटिङ डाइरेक्टर नन्द किशोर भामले बताए । ट्राभल्स संचालक भामले भने, – ‘हामीले रारा घुम्न गएका १२ जना आन्तरिक पर्यटक मध्ये २ जनालाई रारा बिमानस्थल ताल्चामा राखी बिरामीसहित २ जनालाई तारा एअरको जहाजमार्फत नेपालगञ्ज पठाएका हौं ।’

सोमबार रारा विमानस्थल ताल्चामा वनमन्त्री शाहीसहितको भीआईपी टोलीले सिकिस्त बिरामी दानबहादुर विकलाई विमानस्थलको धावनमार्गमै अलपत्र छाडेर नेपालगञ्ज उडेका थिए । बिरामीका आफन्तले हारगुहार गर्दासमेत मन्त्री शाहीले बेवास्ता थिए ।

याे भिडियाे पनि हेर्न्नुहाेस्

TATA ADD