विश्वकप लिग २ मा नेपालको दोस्रो जित

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपालले आईसीसी विश्वकप लिग २ मा दोस्रो जित हासिल गरेको छ । लिग २ मा ८ महिनापछि जित हात हासिल गर्ने क्रममा नेपालले गएराति स्कटल्यान्डलाई ५ विकेटले पराजित गरेको हो । यसअघि नेपालले खेलेका ९ मध्ये एक मात्रै खेल जितेको थियो । गत फेब्रुअरी १७ मा नेदरल्यान्ड्सविरुद्ध टीयु क्रिकेट मैदानमा जित हासिल गरे यता जित निकाल्न नसकेको नेपालले तर गएराति नेपालले अमेरिकाको डालासमा स्कटल्याण्डलाई ५ विकेटले हरायो ।

१५५ रनको लक्ष्य पछ्याएको नेपालले २९.५ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो । नेपालको जितमा प्लेयर अफ दी म्याच आरिफ शेखले ४२ बलमा ८ चौकासहित सर्वाधिक नटआउट ५० रनको इनिङ खेले । गुलशन झा ३० बलमा ३ चौका र १ छक्कासहित २५ रनमा नट आउट रहे । छैटौं विकेटका लागि यो जोडीले ५१ बलमा ५७ रनको साझेदारी गरयो ।

कुशल भुर्तेल २५,आसिफ शेख २१, अनिल साह १३, कुशल मल्ल ७ र रोहित कुमार पौडेल १ रनमा आउट भए ।

त्यसअघि ग्राण्ड प्रेरी क्रिकेट रंगशाला डालासमा टस हारेर ब्याटिङ थालेको स्कटल्यान्ड ४१.४ ओभरमा १५४ रनमा अल आउट भयो ।स्कटल्याण्डका लागि आठौं नम्बरमा ब्याटिङ गरेका मार्क वाटले सर्वाधिक ३४ रन बनाए । ४० बल खेलेका उनले ३ छक्का प्रहार गरे ।

स्कटिस इनिङ्समा छक्का प्रहार गर्ने उनी एक्ला खेलाडी थिए । कप्तान रिची बेरिङ्गटन र माइकल जोन्सले समान १९ रन जोडे । ब्राण्ड म्याकुमलेनले १६, म्याथ्यु क्रसले १५, आन्द्रे उमिद र माइकल लिस्क समान १४ रन बनाएर आउट भए । ब्राड ह्विल ९ रनमा आउट भए भने ओपनर चार्ली टियर र ज्याक जर्भिसले खाता खोल्न सकेनन् ।

स्कटल्याण्डलाई अलआउट गर्न नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक ३ विकेट लिए । नेपालबाट १० ओभर फुल कोटा बलिङ गर्ने एक्ला बलर सन्दीपले १ मेडन राख्दै ४५ रन खर्चे । यस्तै करण केसी, सोमपाल कामी र गुल्सन झाले २(२ विकेट लिए । करणले ९ ओभरमा १ मेडन राख्दै २६ तथा गुल्सनले ९ ओभरमा ३३ रन खर्चिए । ८।४ ओभर बलिङ गरेका सोमपालले १ मेडन राख्दै ३२ रन खर्चिए । आरिफ शेखले ३ ओभरमा ९ रन खर्चेर १ विकेट लिए ।

पहिलो ओभरदेखि नै नेपालले विकेट लिन थालेपछि स्कटल्याण्ड दबाबमा परेको थियो । नेपाली बलरले नियमित अन्तरालमा विकेट लिँदै टस जितेर बलिङ गर्ने निर्णयलाई सही सावित गरे ।
नेपाल पहिलो खेलमा अमेरिकासँग ३ विकेटले पराजित भएको थियो । लिग २ मा नेपाल १० खेलमा २ मा जितसहित पाँच अंकका साथ सातौं स्थानमा छ । नेपालले अव शनिबार अमेरिका र सोमबार स्कटल्यान्डसँग खेल्नेछ ।

स्कटल्यान्ड ९ खेलमा ११ अंकका साथ चौथो स्थानमा छ । क्यानडा १२ खेलमा १६ अंकका साथ शीर्षस्थानमा छ । ८ टोली सहभागी लिग २ मा शीर्ष चार टोलीले २०२७ को एकदिवसीय विश्वकप छनोट सोझै खेल्न पाउनेछन् ।