साफ महिला च्याम्पियनसिप फाइनल : नेपाललाई इतिहास रच्ने अवसर

दियोपोस्ट संवाददाता  

काठमाडौ‌ । पहिलोपटक दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली आज बङ्गलादेशविरुद्ध मैदानमा उत्रँदैछ। दशरथ रंगशालामा हुने यस ऐतिहासिक फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली पनि उपस्थित हुने कार्यक्रम रहेको छ।

सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा नेपालले पाँच पटक फाइनलमा पुगेर पनि उपाधि जित्न सकेको छैन। यस पटक भने घरेलु मैदानमा भारतलाई पराजित गर्दै फाइनलमा पुगेको नेपाली टोलीसँग इतिहास रच्ने सुनौलो अवसर छ।

मुख्य प्रशिक्षक राजेन्द्र तामाङले विगतका अनुभवबाट सिक्दै यस पटक उपाधि जित्ने रणनीति बनाएको बताए। नेपालले यसअघि चार पटक भारतसँग र एक पटक बङ्गलादेशसँग फाइनल गुमाएको थियो।

टोलीकी स्टार खेलाडी सावित्री भण्डारी (साम्बा) ले यस प्रतियोगितामा नयाँ कीर्तिमान बनाउने मौका पाउने छिन्। उनले सेमिफाइनलमा गोल गर्दै साफ च्याम्पियनसिपमा अनु लामाको २१ गोलको कीर्तिमान बराबरी गरिसकेकी छिन्। फ्रान्सको क्लब इए अभान्ट गुइग्याम्पबाट फर्किएकी साम्बाले नेपालका लागि ४८ खेलमा ५५ गोल गरिसकेकी छिन्।

कप्तान अन्जिला तुम्बापो सुब्बाले गत संस्करणमा बङ्गलादेशसँग भएको हारको बदला लिने लक्ष्य राखेको बताइन्। सन् २०२२ मा बङ्गलादेशले नेपाललाई ३-१ ले हराउँदै आफ्नो पहिलो साफ उपाधि जितेको थियो।

यस संस्करणमा नेपालले समूह चरणमा माल्दिभ्सलाई ११-० र श्रीलंकालाई ६-० ले पराजित गरेको थियो। बङ्गलादेशले पाकिस्तानसँग १-१ को बराबरी खेल्दै भारतलाई ३-१ ले हराएर फाइनल यात्रा तय गरेको हो।

फाइनल खेल आज साँझ साढे ६ बजे दशरथ रंगशालामा हुनेछ, जहाँ घरेलु दर्शकको समर्थनमा नेपालले पहिलो पटक साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने आशा गरेको छ।

सिफारिस