अखिलका नेता किरण विकले दर्ता गरे ‘राष्ट्रिय जेन-जी पार्टी’, चुनाव चिन्ह ‘क्रस खुकुरी’

दियोपोस्ट संवाददाता  

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन (अखिल)का पूर्व केन्द्रिय सदस्य तथा एमालेका बिभिन्न बिभागमा रहेर काम गर्दै आएका रुपन्देहीका हिराप्रसाद सेती (किरण विक)ले आफ्नो अध्यक्षतामा पार्टी दर्ता गराएका छन् । उनले सोमबार निर्वाचन आयोग पुगेर ‘राष्ट्रिय जेन-जी पार्टी नेपाल’ नामक दल दर्ता गराएका हुन् ।

आयोगमा दर्ता गरिएको निवेदन अनुसार, पार्टीको चुनाव चिन्ह ‘क्रस खुकुरी’ निर्धारण गरिएको छ। पार्टीले आफ्नो राजनीतिक दर्शनका रूपमा सामाजिक उदारवादलाई अंगीकार गरेको जनाएको छ।

यसले युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणीय संरक्षण, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार, र गणतन्त्रलाई आफ्ना प्रमुख आधारस्तम्भका रूपमा लिएको छ।

दलको विधान अनुसार कुनै पनि पदाधिकारीले अधिकतम दुई कार्यकालसम्म मात्र जिम्मेवारी वहन गर्न सक्ने व्यवस्था गरिएको छ। पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा रहेको उल्लेख गरिएको छ। प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेका छन्।

पदाधिकारी संरचनाअनुसार, अध्यक्षमा हिराप्रसाद सेती (किरण विक), उपाध्यक्षमा मुना विक, महासचिवमा गोपाल आचार्य, र सचिवहरूमा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान, तथा होम श्रेष्ठ रहेका छन्।

‘राष्ट्रिय जेन-जी पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भए मध्येको सबै भन्दा कान्छो दल हो ।

 

 

सिफारिस