काठमाडौं,असोज १३ । सभामुख कृष्ण बहादुर महरा विवादमा तानिएसँगै नेकपा अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बैठक बसेको छ । प्रचण्डसहित पूर्वमाओवादी निकटका नेताहरु सहभागी बैठकमा महरामाथि गम्भीर आरोप लागिपसेपछि राजीनामा दिएर छानबिनमा सघाउनु पर्ने धारणा नेताहरुले राखेका छन् ।
नेताहरुले महराले राजीनामा दिनुपर्ने सुझाव बैठकले दिएको बैठकमा सहभागी एक नेताले रातोपाटीलाई जानकारी दिए । बैठकमा महराको ‘कमजोरी’ देखिएको भन्दै उच्च ओहदामा रहेका व्यक्तिले माथि प्रश्न
उठिसकेपछि राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने धारणा अधिकांश नेताहरुबाट आएको उनको भनाइ थियो । बैठकलगत्तै नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । ओली र प्रचण्डबीच यस विषयमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भइरहेको बताइएको छ ।
महरामाथि संसद सचिवालयकी एक महिलालाई यौन दुव्र्यवहारको आरोप लागेको छ । संसद सचिवालयकम काजमा कार्यरत एक महिला कर्मचारीले सभामुख महराले आफूलाई जर्वजस्ती करणी गर्ने प्रयास गरेको आरोेप लगाएकी हुन् । ती महिला कर्मचारीले आइतबार साँझ महराले मदिरा पिएर आफूमाथि करणीको प्रयास भएको विभिन्न सञ्चारमाध्यमलाई बताएकी हन् । तर यसवारे पीडित भनेकी महिलाले प्रहरीमा जाहेरी नदिएको प्रहरीले जनाएको छ ।