नेकपा सचिवालयको आकस्मिक वैठकः महरालाई सभामुख र सांसदबाट राजिनामा दिन सुझाव

दियो पोस्ट  

काठमाडौँ, असोज १४ । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरालाई जबरजस्ती करणीको आरोप लागेपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आकस्मिक वैठक बसेको छ । मंगलबार मध्यान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले महरालाई सभामुख र सांसद दुबैबाट राजिनामा दिनका लागि नेताहरुले सुझाएका छन् ।

मुलुकको उच्च अहोदामा बसेको ब्यक्तिमाथि गम्भिर आरोप लागेपछि राजिनामा दिएर अनुसन्धानलाई सहज बनाउनु पर्ने भन्दै पार्टीका नेताहरुले महरालाई जिम्मेवारीबाट अलग्गिनका लागि सुझाव दिएका हुन् । नेताहरुले सभामुखमाथि लागेको आरोपका कारण सरकार र पार्टी दुबैको प्रतिष्ठामा धक्का पुग्न सक्ने भन्दै महराले राजिनामा दिनुपर्ने बताएका हुन् ।

महरामाथि जबरजस्ती करणीको आरोप लागेपछि मंगलबार विहान प्रचण्ड निवास खुमलटारमा समेत पार्टीका केन्द्रिय नेताहरु सहितको वैठक बसेको थियो । सो वैठकले समेत महरालाई जिम्मेवारीबाट अलग्गिन सुझाव दिएको थियो । वैठकपछि नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।