नेपालबाट जापानमा काम गर्न जान इच्छुक सबै आवेदकले परीक्षामा सहभागी हुन नपाउने

दियो पोस्ट  

काठमाडौं, असोज १५ । पहिलो चरणमा नेपालबाट जापान लैजाने भनिएका नर्सिङ केअरगिभर अर्थात् स्वास्थ्य सहयोगी छनोट परीक्षामा एक हजार जनालाई मात्र सहभागी गराईने भएको छ ।

बेवसाइटमार्फत् आवेदन भर्नेहरूको सङ्ख्या धेरै हुने भएकाले परीक्षामा सहभागी हुने आवेदकको सङ्ख्या पनि बढाउन आग्रह गरिएको श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ।

तर त्यसको उत्तर प्राप्त भइनसकेको अधिकारीहरूको भनाइ छ।

बीबीसीले लेखेको खबर अनुसार दुई देशबीच भएको सम्झौताअनुरूप अन्य १३ वटा क्षेत्रमा पनि कामदार लैजाने प्रक्रिया सुरु गर्न नेपालका तर्फबाट पत्राचार गरिएको बताइएको छ।
दक्षिण कोरियापछि नेपाली कामदारका लागि दोस्रो आकर्षक देशका रूपमा जापानको रोजगारीलाई लिइएको छ।

दुई देशबीच भएको सम्झौताअनुरूप पहिलो चरणमा स्वास्थ्य सहयोगीका लागि अन्लाइन आवेदन लिने काम भइरहेको छ।
तर सबै आवेदकले परीक्षा दिन नपाउने देखिएको छ।

छनोटका लागि सीमित आवेदकको मात्र परीक्षा लिइने जानकारी जापान सरकारले नेपाल सरकारलाई गराएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको रोजगार समन्वय महाशाखा प्रमुख उमेश ढुङ्गानाले बताए।

जापानले स्वास्थ्य सहयोगीबाहेक कृषि, होटल, उद्योग, सुरक्षा, नर्सिङ सेवा, सवारीसाधन मर्मत र सम्भार, निर्माण उद्योगसहित १३ वटा क्षेत्रमा कामदार लैजाने जनाएको छ।