काठमाडौं, असोज १५ । सभामुख महरालाई यौन दुराचारको गम्भीर आरोप लागेपछि मंगलबार बिहान बसेको सत्तारुढ नेकपाको सचिवालय बैठकले सभामुख र प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन आग्रह गरेको छ ।
राजीनामा दिँदा निष्पक्ष छानबिनका लागि सहज वातावरण बन्ने बैठकको ठहर छ । घटना सार्वजनिक भएपछि अध्यक्ष प्रचण्डले महरालाई राजीनामा दिन सुझाएका थिए । सचिवालय बैठकमा पनि प्रचण्डले नै सभामुखलाई राजीनामा दिन आग्रह गर्ने प्रस्ताव गरेका थिए ।
त्यसमा अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पनि समर्थन जनाएपछि बैठकमा निर्णय भयो । त्यसअघि पनि ओलीले आफ्नै ढंगले घटना विवरण बुझिसकेका थिए । बैठकमा सबै नेताको एउटै स्वर भएको पूर्वप्रधानमन्त्री झलनाथ खनालले बताए ।
सभामुखसँग असन्तुष्ट थिए ओली
नयाँपत्रिका दैनिकले लेखेको खबर अनुसार, सभामुख कृष्णबहादुर महरासँग प्रधानमन्त्री केपी ओली पछिल्लो समय सन्तुष्ट थिएनन् ।
सभामुखका हैसियतमा सरकार र आफूलाई असहयोग गरेको ओलीको बुझाइ छ । अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी)सँग भएको सम्झौता कार्यान्वयनका लागि संसद्ले अनुमोदन गर्नुपर्छ ।
तीन महिनाअघि नै संसद्मा दर्ता भएको सम्झौता अझै अनुमोदन हुन सकेको छैन । त्यसमा महराले रुचि नदेखाएको ओलीको बुझाइ छ । ७९ अर्ब रुपैयाँबराबरको सो सम्झौता संसद्को केही दिनअघि अन्त्य भएको अधिवेशनबाटै अनुमोदन गर्न प्रधानमन्त्री ओलीले महरालाई आग्रह गरेका थिए । तर, पारित नगरी अधिवेशन अन्त्य गरेर महराले असहयोग गरेको उनको बुझाइ छ ।
ऊर्जा तथा यातायात क्षेत्रको पूर्वाधार निर्माणका लागि अमेरिकाले सो सहयोग घोषणा गरेको हो । सभामुख महरासँग प्रधानमन्त्री ओली रिसाउने अर्काे कारण पनि छ । गत २४ वैशाखमा संसद्लाई सम्बोधन गर्दै ओलीले विपक्षी सांसदलाई ‘निम्छरो’ भनेपछि संसद्मै हंगामा भयो ।
विपक्षीको मागअनुसार सभामुख महराले ओलीले बोलेका केही शब्द संसदीय मर्यादाविपरीत भएको भन्दै रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । यो कुरा अोलीलाई मन परेको थिएन ।