काठमाडौँ, असोज १६ । निवर्तमान सभामुख कृष्णबहादुर महराले सरकारले प्रदान गरेको सुविधा फिर्ता गरेका छन् । सरकारी सुविधामार्फत आफुले प्रयोग गर्दै आएका सवारी साधन र सुरक्षाकर्मी विहीबार फिर्ता गरेका हुन् ।
सभामुखबाट राजिनामा दिएपछि आफुले चढ्दै आएको बा २ झ १२६८ नम्बरको सरकारी गाडी फिर्ता गरेका छन् । त्यसैगरि उनको सुरक्षाका लागि क्याप्टेनको नेतृत्वमा खटिएको १७ सैनिक र इन्सपेक्टरको नेतृत्वमा खटिएको ११ जना प्रहरी फिर्ता गरेका छन् ।
महरामाथि संसद सचिवालयमै कार्यरत महिला कर्मचारीले यौन दुराचारको आरोप लगाएपछि सभामुखबाट राजिनामा दिएका थिए । पदबाट राजिनामा दिएपछि भने आरोप लगाउने महिलाले आफुमाथि महराले जबरजस्ती नगरेको बताएकी छिन् ।