टर्कीका फौजले उत्तरपूर्वी सिरियामा ठूलो स्तरको सैन्य कारबाही अघि बढाइरहँदा कैयौँ गाउँहरू कब्जा गरेको छ।
बिहीवार दिनभर टर्कीले हवाई हमला तथा गोलाबारी गर्यो। कुर्दहरूका अनुसार ९ गैरसैनिक मारिएका छन्।
टर्कीपट्टिको नगरमा कुर्दहरूले हमला गरेका छन्। एक शिशु सहित कम्तीमा ३ जनाको ज्यान गएको छ।
मुख्य निशानामा सिमाना नजिकैको दुई नगर तल अब्याद तथा रस अल-ऐन रहेका छन्।
टर्कीको सेनाले ती दुवै नगरलाई घेराबन्दी गरेका छन्। युद्धका कारण ६० हजारभन्दा धेरै मानिस त्यहाँबाट भागेका छन्।
सहायता संस्थाहरूका अनुसार त्यसरी विस्थापित हुनेको सङ्ख्या लाखौँ पुग्न सक्छ। अन्तर्राष्ट्रिय उद्धार समितिका अनुसार ६४ हजार मानिसले आफ्नो घर छाडेर भागिसकेका छन्।
युकेस्थित पर्यवेक्षण समूह सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले पनि उस्तै सङ्ख्या बताएको छ।
टर्कीलाई हमला रोक्न अन्तर्राष्ट्रिय दबाब बढेको छ। टर्कीले कुर्दिश मिलिसियालाई हटाएर सो क्षेत्रमा सिरियाली शरणार्थीका निम्ति सुरक्षित क्षेत्र बनाउन चाहेको बताएको छ।
टर्कीले कुर्दिश मिलिसियाहरूलाई टर्कीविरोधी विद्रोह समर्थन गर्ने आतंकवादी मान्छ। सिरियन डेमोक्र्याटिक फोर्स एसडिएफका ती कुर्दिश समूहले सिमानाका नगरमा नियन्त्रण गर्छन्।
इस्लामिक स्टेट आइएसविरुद्धको लडाइँमा एसडिएफले अमेरिकाको साथ दिएको थियो।
तर राष्ट्रपति ट्रम्पले सो क्षेत्रबाट अमेरिकी फौज फिर्ता लैजाने निर्णय गरेपश्चात् टर्कीले त्यहाँ आक्रमण गरेको छ। एसडिएफले त्यसलाई धोका भनेको छ।