पर्यटक भन्छन् : ‘सडक बनाऊ तर पदमार्ग नमास’

दियो पोस्ट  

नेपालमा शान्ति स्थापना भएसँगै नेपाल घुम्न आउने विदेशी पर्यटकको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । विगत केही वर्षयता विदेशी मात्र होइन, नेपालीमा पनि बिदा र विशेष अवसरमा देश दर्शन गर्न विभिन्न ठाउँमा भ्रमण गर्ने चलन बढ्दै गएको छ ।

गत वर्ष सन् २०१८ मा कूल ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयको तथ्याङ्कअनुसार चालू वर्ष सन् २०१९ को जनवरीदेखि जुनसम्मको छ महीनाको अवधिमा कूल पाँच लाख ८५ हजार ५३१ पर्यटक नेपाल भित्रिएका छन् ।

अघिल्लो वर्षको यही अवधिको तुलनामा यो वर्षको पर्यटक आगमन १३ प्रतिशतभन्दा बढीले वृद्धि भएको हो । अघिल्लो वर्षको यही अवधिमा कूल पाँच लाख २० हजार १४ जना पर्यटकले भ्रमण गरेको मन्त्रालयको तथ्याङ्क छ ।

नेपाल भित्रने विदेशी पर्यटकमध्ये धेरैको रोजाइ विविधतालेयुक्त नेपालको भूगोल छिचोल्दै रोमाञ्चक पदयात्रा गर्दै विभिन्न ठाउँमा पुग्ने र पदयात्राको अनुभव हासिल गर्ने नै हुन्छ ।

नेपाल बसाईं र खर्चका हिसाबले पनि पदयात्रामार्फत नेपाल भ्रमण गर्ने पर्यटक नेपालका लागि बढी फाइदाजनक हुन्छन् । सबैभन्दा बढी खर्च गरेर नेपाल भ्रमण गर्नेमा यही वर्गका पर्यटक पर्दछन् । साहसिक यात्रा गर्ने उनीहरू प्राकृतिक परिवेशमा जोखिमयुक्त पैदलयात्रा गर्न रुचाउँछन् । विकासका पूर्वाधारका रूपमा निर्माण हुने सडक र त्यसमा गुड्ने सवारीसाधन यस वर्गका पर्यटकलाई निरुत्साहित गर्ने पक्ष हुन् ।

यसरी पदयात्रा गर्न इच्छुक विदेशी पर्यटकको रोजाइमा सगरमाथा, अन्नपूर्ण हिमाल, उपल्लो मुस्ताङ, मनाङ, डोल्पा जस्ता क्षेत्र पर्ने गर्दछन् । दिनभर कोशौँको निर्जन क्षेत्र पार गर्दै गन्तव्यमा पुग्न दैनिक सयौँ अमेरिकी डलर तिर्न उनीहरू तयार हुन्छन् ।

तर उनीहरूले हिँड्ने पदमार्गमा सडक तथा सवारीसाधनका गतिविधि नहुन् भन्ने उनीहरू चाहन्छन् ।

आफ्ना देशका सडक तथा सवारीमा बिताइने दिनचर्याभन्दा फरक अनुभव लिन आपूmहरू यस्ता ठाउँ खोज्दै आएको उनीहरूको प्रतिक्रिया रहने गरेको छ । उपल्लो मुस्ताङ विदेशी पर्यटकका लागि रोमाञ्चक पदयात्राको अवर्णित अनुभूति गराउने महत्वपूर्ण ठाउँ हो ।

यहाँ आउने पर्यटक मोटर चढेर होइन, पदयात्राको रोमाञ्चक अनुभूति गर्दै यहाँको भूगोलमा रमाउन चाहन्छन् । तर उनीहरुको यो चाहना जोमसोम–कोरला (११० किमी) सडकका कारण तुसारापात हुँदै गएको उनीहरुको भनाइ छ ।

यहाँ आउने पर्यटकलाई धेरै ठाउँमा मोटर बाटो र त्यसकै आसपास हुँदै हिँड्नुपर्ने बाध्यता छ । सरकारले आफ्नो रणनीतिक महत्वका साथ बेनी–जोमसोम हुँदै उपल्लो मुस्ताङ पार गरी चीनको कोरला जोड्ने सडक निर्माण गरिरहेको छ । ग्राभेलिङ मात्रै गर्ने योजना रहेको यो सडकका कारण उपल्लो मुस्ताङको भ्रमणमा आउने विदेशी पर्यटक असन्तुष्ट हुँदै गएका छन् ।

निर्माणाधीन सडक तथा त्यहाँ गुड्ने गाडीले उडाउने कुइरिमण्डल धुलोले उनीहरू झनै बढी आजित छन् । यस्ता पर्यटकले जतिसक्दो चाँडो सडकभन्दा परबाट पदयात्राका लागि वैकल्पिक मार्ग खोल्नुपर्ने सल्लाह दिँदै आएका छन् । उनीहरु भन्छन्, ‘सडक बनाऊ तर पदमार्ग पनि नमास ।’