चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः रेलमार्गसहित दर्जनौँ आयोजनामा सम्झौता गर्ने तयारी

दियो पोस्ट  

काठमाडौँ, असोज २४ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार साँझ त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नेपाल अवतरण गर्दैछन् । २३ बर्षपछि चिनियाँ राष्ट्रप्रमुख नेपाल भ्रमणका लागि आउनुले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चर्चाको विषय बनेको छ ।

विश्वकै शक्तिशाली व्यक्ति नेपाल आउन लाग्दा नेपालले सीको स्वागतका लागि धुमधाम तयारी गरिसकेको छ । सडक मर्मतसम्भार देखि लिएर सडक किनाराका पोलहरुमा राष्ट्रपति भण्डारी र चिनियाँ राष्ट्रपति सीको फोटो लगाउने काम सक्किसकेको छ ।

सी शनिबार साँझ करिब ५ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल अवतरण गर्ने छन् । विमानस्थलबाट सोझै राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेट्नका लागि शीतलनिवास पुग्ने कार्यक्रम रहेको छ । करिब साढे ६ बजे सम्म सी शीतलनिवासमा रहनेछन् । राष्ट्रपति भण्डारीसँगको भेटमा दुई देशको आपसी सम्वन्धको विषयमा छलफल हुने छ ।

साँझ ७ बजे राष्ट्रपति भण्डारीले आफ्ना समकक्षीको सम्मानका लागि सोल्टी क्राउन प्लाजामा रात्रीभोजको आयोजना गरेकी छिन् । रात्रीभोज सम्पन्न भईसकेपछि चिनियाँ राष्ट्रपति सीको शनिबारका सम्पुर्ण कार्यक्रम सकेर आराम गर्नेछन् ।

आइतबार बिहान नेपाल र चीनबिच औपचारिक वार्ता हुनेछ । वार्तामा कृषी, पर्यटन, पुर्वाधार विकास लगायतका विषयमा छलफल गर्दै द्धिपक्षिय सम्झौतामा हस्ताक्षर हुनेछ । वार्तामा नेपालले ठुला आयोजना निर्माणको विषयमा प्रस्ताव राख्ने तयारी गरेको छ । नेपालले बहुचर्चित केरुङ–काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) निर्माणसहित एक दर्जन आयोजनामा सम्झौता गर्ने तयारी गरेको छ ।

चीनसँग जोडिने कोशी, कर्णाली र गण्डकी सडक करीडोरको स्तरोन्नति तथा निर्माणमा चिनियाँ पक्षसँग सम्झौता गर्ने सरकारले तयारी गरेको छ । त्यस्तै चिनियाँ पक्षले पनि बेल्ट एन्ड रोड (बीआरआई) जस्तो महत्त्वकांक्षी परियोजना लिएर आगडि बढिरहेको अवस्थामा सडक, रेलमार्ग, विमानस्थल, विद्युतीय प्रशारणलाई जस्ता अन्तरदेशीय सञ्जाल विस्तार र विकासमा विशेष प्राथमिकता दिँदै आएको छ ।

सम्झौतापश्चात सीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का शीर्ष नेतासहित अन्य राजनीतिक दलका प्रमुख नेताहरुले भेटवार्ता गर्ने तयारी रहेको छ । त्यसपछि नेपाली समयअनुसार १२ः३० बजे नेपालको दुई दिने नेपाल भ्रमण सकाएर स्वदेश फर्कने कार्यक्रम रहेको छ ।