काठमाडौँ, असोज २५ । चिनियाँ राष्ट्रपति सी जिनपिङ शनिबार साँझ त्रिभुवन विमानस्थल अवतरण गर्दैछन् । चिनबाट भारत पुगेका राष्ट्रपति सी भारतको २ दिने भ्रमण सक्काएर शनिबार नेपाल आउँदै छन् । उनि एयर चाइनाको प्रेसिडेन्टल जेट विमान बोइङ ७४७–४०० मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने कार्यक्रम रहेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल भ्रमणमा आउन लागेका हुन् । राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुस्थित चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाडौँ आइपुग्ने छन् ।
सी लाई सुरक्षा दिन सरकारले चार सुरक्षा घेरा बनाएको छ । पहिलो घेरामा नेपाली सेनाले सुरक्षा दिनेछन् भने दोस्रोमा नेपाल प्रहरी र तेस्रोमा शसस्त्र प्रहरी बलले सुरक्षा दिने छन् । सुरक्षाको चौथो घेरामा राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी रहनेछन् ।
सीको सुरक्षाका लागि राजधानीमा १५ हजार भन्दा बढी सुरक्षाकर्मीको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ । विश्वकै शक्तिशाली ब्यक्ति नेपाल आउने भएपछि सुरक्षामा कुनैपनि कमी नराखिएको गृह स्रोतले जनाएको छ ।
सीको सवारी हुने सडकमा सवारी आगमन पातलो बनाइएको छ । सवारी व्यवस्थापनको जिम्मेवारी पाएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले शनिबार सीको सवारी हुने सडकहरुमा थोत्रा सवारी साधन चलाउन निषेध गरेको छ । त्यस्तै ठुला मालवाहक गाडी समेत निषेध गरिएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
विमानस्थल अवतरण गरेपछि चिनियाँ राष्ट्रपति सी सिधै शीतलनिवास पुग्ने छन् । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरको रात्रीभोजमा सहभागी हुनका लागि सोल्टी होटल पुग्ने छन् । एअरपोर्टदेखि बानेश्वर हुँदै पुतलीसडक बालुवाटार बाट शीतलनिवास सम्मको सडकमा ठुला र थोत्रा सवारी साधन चलाउन रोक लगाइएको छ । शीतलनिवासबाट लाजिम्पाट हुँदै शहिदगेट तर्फबाट होटल सोल्टी क्राउन प्लाजासम्म पनि ट्राफिक व्यवस्था चुस्त बनाइएको छ ।
प्रहरीले सी को सुरक्षालाई मध्यनजर गर्दै सडक पेटीमा हिँड्ने व्यक्तिहरुमाथि पनि कडा निगरानी राखेको छ । शनिबार काम भएमात्र सडकमा निस्कनका लागि सर्वसाधरणमाझ आह्वान गरेको छ । सी आइतबार दिउँसो चिन फर्कने कार्यक्रम रहेको छ ।