रात्रिभोजमा सहभागि हुनेलाई परराष्ट्रको उर्दीः चिनियाँ राष्ट्रपतिले खान सुरु गरेपछि मात्रै खानुस् !

दियो पोस्ट  

काठमाडौं, असोज २५ । चिनियाँ राष्ट्रपतिको स्वागतमा नेपाली समकक्षी विद्यादेवी भण्डारीले शनिबार साँझ रात्रिभोजको पनि आयोजना गरेकी छिन । चिनियाँ राष्ट्रपति सी जिनपिङसँग रात्रिभोजमा सरिक हुनेले भने कडा अनुशासन पालना गर्नुपर्ने छ । रात्रिभोजमा सहभागी हुने पाहुनाहरुले पोशाकदेखि खाना खाने समयमा समेत ध्यान दिनुपर्ने छ ।

चिनियाँ राष्ट्रपति सीसँग रात्रिभोज गर्ने अतिथिलाई परराष्ट्र मन्त्रालयले पठाएको निमन्त्रणा पत्रसँगै पालना गर्नुपर्ने नियम पनि बुँदागतरुपमा उल्लेख गरेर पठाएको छ ।

रात्रिभोजमा सहभागी हुने नेपाली अतिथिहरुमध्ये पुरुषले राष्ट्रिय पोशाक दौरा, सुरुवाल र ढाका टोपी अनिवार्य लगाउनु पर्नेछ । राष्ट्रिय पोशाक नलगाउनेहरुले भने सेतो सर्ट र गाढा कालो रंगको सुट लगाउनु पर्नेछ । यस्तै जुत्तामा पनि एकरुपता कायम गरिएको छ । सहभागी नेपाली अतिथिहरुले तुना बाँध्ने छालाको कालो जुत्ता अनिवार्य लगाउनु पर्नेछ ।

महिलाको हकमा भने राष्ट्रिय पोशाक तथा सारी वा गाढा सुट लगाउनु पर्नेछ ।