राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल, पारस खड्काको राजिनामा स्वीकृत

दियोपोस्ट संवाददाता

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले पारस खड्काको राजिनामा स्वीकृत गरेको छ । पारसको राजिनामा स्वीकृत गर्दै राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारी ज्ञानेन्द्र मल्ललाई दिएको छ ।
क्रिकेट संघको निलम्बन भएको भोलिपल्टै खड्काले कप्तान पद छाड्ने घोषणा गरेका थिए । उनले आइतबार मात्र इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए । ‘कप्तानमा फर्किन गरिएको आग्रह पारसले अस्वीकार गरेपछि उनको राजीनामा स्वीकृत गरिएको क्यानका एक पदाधिकारीले बताए । अर्को व्यवस्था नभएसम्मका लागि ज्ञानेन्द्र मल्ललाई कप्तानको जिम्मेवारी दिइएको हो ।
पारस एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गर्दा ज्ञानेन्द्रले उपकप्तानको भूमिका निभाएका थिए । पारसको अनुपस्थितिमा उनले नै कप्तानीको भूमिका निभाएका थिए ।
यस्तै दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिइएको छ । हालै सिंगापुर र ओमान टुरमा ज्ञानेन्द्रलाई आराम दिँदा ऐरी उपकप्तानको भूमिका थिए ।
राष्ट्रिय टिमका मुख्य प्रशिक्षक उमेश पटवाललाई नयाँ कप्तान र उपकप्तानबारे बुधबार नै जानकारी गराईएको नेपाल क्रिकेट संघले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस