३ अर्ब ३८ करोड ऋण तिर्न नसकेको उदयपुर सिमेन्टलाई फेरी ऋण बोकाउने न्यौपानेको तयारी

दियो पोस्ट  

काठमाडौं । व्यवस्थापकीय नेतृत्वमा रहेका गोपीकृष्ण न्यौपानेको असक्षमताका कारण टाट पल्टिन पुगेको उदयपुर सिमेन्टले ५० करोड भन्दा बढी ऋण मागेको छ । अर्थमन्त्रालयमा विचाराधिन अवस्थामा रहेको यो प्रस्ताव स्वीकृत गराउन उद्योगका महाप्रबन्धक गोपिकृष्ण न्यौपाने लागि परेका छन् । तर, सरकार भने न्यौपानेको प्रस्तावमा सहमत बन्न सकेको छैन । केही वर्षअघि मात्रै भित्रिएको कंक्रिट उत्पादन गर्ने मेसिनलाई हटाएर नयाँ मेसिन किन्ने भन्दै न्यौपानेले कमिशनको लोभमा बजेट माग गरेको स्रोतले बनाएको छ ।

स्रोतका अनुसार उद्योगको नाममा २०७८ असार मसान्तसम्म साँवा र ब्याज गरि २ अर्ब ९८ करोडभन्दा बढी ऋण छ ।

भाखा नागेको ऋण लगानी र उद्योगको हिसाब किताब नै फरक फरक छ । उद्योगको हिसाबमा त सरकारलाई सावाँ १ अर्ब ७२ करोड र ब्याज १ अर्ब ६६ करोड गरि ३ अर्ब ३८ करोडभन्दा बढी ऋण तिर्नु छ । सरकारी हिसाब र उद्योगको हिसाबमा ४० करोड ३५ लाख भन्दा बढी त हिसाबै फरक देखिएको छ ।
महालेखाको प्रतिवेदन अनुसार २०५७ साल भदौ १५ गते नै मन्त्रिपरिषद बैठकबाट १२ वर्ष भित्रमा ५ प्रतिशतका दरले ब्याज बुझाउन भनिएको थियो । तर, हालसम्म पनि सरकारलाई एक पैसा पनि तिर्न नसक्ने अवस्थामा पुगेको छ उदयपुर सिमेन्ट ।

त्यसमाथि अहिले उद्योग चल्न सक्ने अवस्थामा समेत छैन । कोइला अभाव भएपनि विभिन्न चाड पर्वको बहानामा लामो समयदेखि उद्योगले क्लिंकर उत्पादन गर्न सकेको छैन । तर, महाप्रबन्धक न्यौपाने भने विभिन्न सञ्चार माध्यमलाई उद्योगलाई ऋण पाए नयाँ जीवन दिन सक्छु भन्दै धक्कु लगाउँदै हिँडेका छन् । दैनिक ८ सय टन उत्पादन क्षमता भएको उक्त उद्योगले दैनिक औषतमा ३ सय टन मात्रै उत्पादन गर्दै आएको छ । सोहीकारण उद्योगले आम्दानीभन्दा खर्च बढी गर्दै आएको छ । यसअघि सोही क्षमताको मेसिनले दैनिक ६ सय टनभन्दा बढी क्लिंकर उत्पादन गर्दै आएको थियो । तर, न्यौपाने नेतृत्वमा आएपछि उद्योगलाई टाट पल्टाउन लागि परेका छन् । उद्योग बन्द भएपछि उनी विभिन्न बहानामा भाग्दै आएका छन् । केहीदिन अघि त विभिन्न मजदुर संगठनले विज्ञप्ति नै निकालेर उनको खोजी गरेका थिए ।

‘केही महिना मात्रै उद्योगको जिएम पदमा रहने गोपिकृष्ण न्यौपानेले उद्योगलाई फेरी ऋणमा डुबाएर जाने भए,’ एक मजदुर नेताले भने,‘यो उद्योगलाई फेरी समस्यामा पार्ने प्रपञ्च हो ।’

सम्बन्धित खबर