
काठमाडौं । सरकारको पूर्ण स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगमा ‘हानाहान’ भएको छ । कमजोर नेतृत्वका कारण कोइला अभावमा बन्द रहेको उद्योगका महाप्रबन्धक गोपीकृष्ण न्यौपानेका कारण शनिबार दिउँसो उद्योग भित्र तनाव भएको हो ।
व्यवस्थापकीय नेतृत्व गर्न असक्षम भएपछि भागी हिँडेका महाप्रबन्धक न्यौपाने आज कार्यालय पुगेका थिए । दिउँसो करिब १२ बजे कार्यालयमा पुगेपछि कर्मचारीले उद्योग किन खोल्न सक्नु हुन्न भन्दै प्रश्न गरेपछि अ महाप्रबन्धको तुजुक देखाउँदै न्यौपानेले टेबलमा प्रहार गरेका थिए ।
उनको प्रहारबाट सिसाको टेबल नै फूटेको प्रत्यक्षदर्शीले बताए । उनले कर्मचारीलाई नै तथानाम गर्न थालेपछि आक्रोशित बनेका कर्मचारीले समेत कुर्सी उचालेका थिए । विवाद उत्कर्षमा पुगेपछि प्रहरी नै उद्योगमा पुगेर विवाद साम्य पार्नु परेको थियो ।
न्यौपानेका कारण उद्योग टाट पल्टिने अवस्थामा पुगेको छ । कोइला अभावले उद्योग बन्द भएपछि न्यौपानेले विभिन्न चाड पर्वको नाममा उद्योग बन्द रहेको बताउँदै आएका छन् ।