कतारको यी आठ खेल मैदानः जहाँ खेल्दैछन् ३२ राष्ट्रका खेलाडी, कुन कस्तो ?

विश्वकप २०२२

दियो पोस्ट  

काठमाडौँ । कतारमा विश्वकप सुरु हुन अब १ दिन मात्रै बाँकी छ । २० नोभेम्बरबाट सुरु हुने विश्वकपको महाकुम्भ डिसेम्बर १८ सम्म चल्नेछ । करिब एक महिनासम्म चल्ने यस प्रतियोगितामा ३२ टोलीको सहभागिता रहेको छ भने प्रतियोगिता अवधिभर ६४ खेल हुने छन्। पहिलो पटक विश्वकप नोभेम्बर–डिसेम्बरमा खेलाइँदैछ ।

यसअघि विश्वकप जुन–जुलाईमा हुने गर्दथ्यो । तर, यस पटक कतारको गर्मीका कारण विश्वकप डिसेम्बरमा खेलाउन लागिएको हो ।

विश्वकपको उद्घाटन खेल अल बायत रंगशालामा हुनेछ जसमा ६० हजार दर्शक अटाउनेछन् । विश्वकप आठ मैदानमा खेलाइँदैछ । फाइनल भने ८० हजार दर्शक क्षमताको लुसेल रंगशालामा हुनेछ । यतिबेला लाखाैँ दर्शक र हजाराैँ खेलाडीलाई पर्खिरहेका छन् यहाँका र‌ंगशाला ।

कतार विश्वकपका लागि कस्ता कस्ता रंगशाला बनाइएको छ त ?

अल बायत रंगशाला

कतार विश्वकपको उदघाटन खेल र समारोह अल बायत रंगशाला हुनेछ । नोभेम्बर २० मा कतारी समयअनुसार बेलुकी ७ बजे कतार र इक्वेडरबीच पहिलो खेल यसै रंगशालामा हुनेछ । यो रंगशालादेखि समुद्रसम्म फैलिएका पार्क, ताल र वातावरणीय अभ्यासका लागि बनाइएका हरित क्षेत्रको सुन्दर दृश्यमा खेल पर्यटक लोभिने विश्वास गरिएको छ ।

यो विश्वकपको दोस्रो ठूलो स्टेडियम हो । यो खाडी क्षेत्रमा घुमन्ते मानिसहरूले प्रयोग गर्ने पाल जस्तै बनाइएको छ । यसले दर्शकलाई आरामदायी मात्रै नभएर कतारी फेब्रिकको महत्त्व पनि दर्शाएको छ । यसमा प्रयोग भएको कपडा शताब्दियौँदेखि यस क्षेत्रमा माग हुँदै आएको छ । यसले दर्शकलाई न्यायो बनाइराख्ने छ । यस्तै यस रंगशालाको प्यारामाउन्टबाहेक माथिको भाग खेल सम्पन्न भएपछि हटाउन मिल्ने गरी डिजाइन गरिएको छ ।

स्टेडियम निर्माणको सात वर्षपछि ३० नोभेम्बर २०२१ मा फिफा अरब कपका लागि खोलिएको थियो । कतारको अल खोर सहरमा अवस्थित अल बायत रंगशाला ६० हजार दर्शक क्षमताको छ ।

साथै यसमा ६ हजार कार, ३५० बस र हजार ट्याक्सीका लागी पार्किङ उपलब्ध गराइने छ । त्यस्तै हजार सिट मिडियालाई उपलब्ध गराइएको छ । रंगशालामा सेमिफाइनल, क्वार्टरफाइनल, राउन्ड अफ १६ र समूह चरणका खेल हुने छन्।

लुसाइल रंगशाला

दोहाको लुसेल रंगशाला कतार विश्वकपमा आकर्षणको केन्द्र बन्नेछ । यो विश्वकपको सबैभन्दा ठूलो रंगशाला हुनेछ । गर्मीसँग लड्न यहाँ विशेष कूलिङ सिस्टम जडान गरिएको छ । जसले स्टेडियमभित्रको तापक्रम नियन्त्रणमा राख्नेछ । इस्लाम धर्ममा प्रयोग गरिने हातले बुनेको कचौरा आकारमा यो रंगशालाको डिजाइन गरिएको छ । यति ठूला रंगशाला विश्वकपपछि के गर्ने भन्ने पनि प्रश्न हुन्छ । त्यसैले फिफा विश्वकपपछि लुसेस रंगशालालाई विद्यालय, कफी शप, स्पोर्ट फ्यासिलिटिज, पसल, स्वास्थ्य केन्द्र लगायत सामुदायिक क्षेत्रमा परिवर्तन गरिनेछ ।

लुसाइल रंगशालामा विश्वकपको ऐतिहासिक फाइनल खेल हुने छ। जसको दर्शक क्षमता ८० हजार छ । यसको निर्माण २०१७ मा सुरु भयो र २०२१ मा सम्पन्न भएको थियो ।

यो रंगशालाको डिजाइन ब्रिटिस फर्म फोस्टर र उसका पार्टनरले गरेका हुन्। जसको टेन्डर चिनियाँ रेलवे कन्सट्रक्सन कर्पोरसनले लिएको छ। यसको पार्किङ क्षेत्र पनि क्यानोपिक लगाएर सिधा घामको टक नपर्ने गरि बनाएको छ। ती क्यानोपिकमा सोलार पावर कलेक्टर पनि राखिएको छ, जसले रंगशालामा पावर प्रदान गर्ने छ। यहाँ सेमिफाइनल, क्वाटर फाइनल र राउन्ड अफ १६ र समूह चरणका खेलहरु हुने छन्।

एजुकेशन सिटी स्टेडियम

एजुकेसन सिटी रंगशाला अल रायन सहरमा अवस्थित छ। जसको दर्शक क्षमता ४५ हजार ३५० छ। यो रंगशाला कतारका प्रख्यात विश्वविद्यायल र क्याम्पसको बीचमा छ।

यो रंगशालामा पछि विश्वविद्यालयका एथ्लेटिक टिमले प्रयोग गर्न सक्ने गरि २५ हजार थप सिटको व्यवस्था गरिएको छ। २० प्रतिशत भाग हरियो पदार्थले बनाइएको छ, जसका कारण यसलाई वातावरणीय रुपमा विश्वकै धेरै दिगो गरि बनाइएको रंगशालाको रुपमा लिइएको छ।यस रंगशालाको अत्याधुनिक डिजाइनले इस्लामिक वास्तुकलालाई झल्काएको छ । रंगशालाको बाहिर त्रिकोणात्मक आकारमा निर्मित हिराजस्तै ज्यामितीय जटिल आकृतिले सूर्यका किरणको परावर्तन गर्दा दृश्य निकै रोमाञ्चक देखिन्छ । यस्तै राति यसमा पर्ने बत्तीको उज्यालोले दर्शकलाई नयाँ अनुभव दिने बताइएको छ ।

यो रंगशालामा कतारका साथै बहराइनका दर्शक पनि सजिलै पुग्न सक्नेछन्। यो स्टेडियम जुन १५, २०२० मा खोलिएको थियो । एजुकेशन सिटी स्टेडियम विश्वकै पर्यावरण मैत्री स्टेडियम मध्ये एक मानिन्छ । विश्वकप सकिएपछि उक्त स्टेडियम सोही क्षेत्रका विद्यालय र कलेजहरुले प्रयोग गर्ने छन् । यो रंगशालामा पनि समूह चरणबाट क्वार्टर फाइनल सम्मका खेल हुने छन्।

अहमद बिन खलिफा रंगशाला (अल रायन)

कतारी क्लब फुटबलको सर्वाधिक सफल टिममध्येको एक हो, अल रायन। यसकै घरेलु मैदान हो, अल रायन रंगशाला। यो रंगशालालाई भत्काएर फेरि बनाइएको हो। एजुकेसन सिटी भित्रै पर्ने यो रंशगशालामा करिब ४४ हजार ७४० दर्शक अट्नेछन्। यो रंगशाला कतारको ऐतिहासिक शहर उम अल अफाईमा मरुभूमि नजिकै छ । यो रंगशाला वरपरका घरहरू र यसमा प्रयोग गरिएका ऐनाले त्यहाँको स्थानीय संस्कृति र परम्परा झल्काएको छ । यस्तै ती ऐना र रंगशालाको अद्भूत ज्यामितीय संरचनामा हुने प्रतिविम्बले स्थानीय पर्यावरण तथा मरुभूमिको सुन्दरतालाई झल्काउँछ । साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापारलाई पनि प्रतिविम्बित गर्दछ भनिएको छ । यसमा प्रयोग भएको ८० प्रतिशतभन्दा बढी निर्माण सामग्री यही क्षेत्रमा रहेको पुरानो रंगशालाको हो ।

यो स्टेडियममा पनि विश्वकपका विभिन्न खेल खेलाइने छ । यहाँ समूह चरणमा अमेरिका, वेल्स, बेल्जियम, क्यानडा, इरान, जापान, कोस्टारिका, इंग्ल्याण्ड र क्रोएसियाका टोलीले खेल्नेछन् । यो स्टेडियम २००३ मा बनाइएको हो ।

खलिफा अन्तर्राष्ट्रिय रंगशाला, दोहा

अल बाहेब स्ट्रिट, बायामा अवस्थित खलिफा रंगशालाको दर्शक क्षमता ४० हजार छ। यो कतारको राष्ट्रिय रंगशालाका रुपमा पनि चिनिन्छ। यो कतारका पूर्व अमिर खलिफा बिन हमाद अल थानीको नाममा राखिएको हो । सन् २००४ मा पहिलो पटक पुनर्निर्माण गरिएको रंगशाला सन् २०१४–१७ मा दोस्रो पटक पुनर्निर्माण गरिएको थियो। त्यसपछि २०१७ मे १९ मा पुनः उद्घाटन गरिएको थियो। सन् १९७६ बाट प्रयोगमा आएको रंगशाला त्यतिबेलाबाटै कतारको राष्ट्रिय फुटबल टोलीको मैदानका रुपमा प्रयोग गरिँदै आएको छ।

यो रंगशालामा एसियन गेम, दोहा डाइमन्ड लिग, पान अरब गेम्स, एथ्लेटिक्स च्याम्पियनसिप लगायत ठूला र ऐतिहासिक प्रतियोगिता समेत आयोजना गरिसकिएको छ। गत सालको फिफा क्लब विश्वकपको आयोजना पनि यही रंगशालामा गरिएको थियो। रोचक के छ भने, विश्वकपका लापग तयार पारिएका रंगशालामध्ये यो सबैभन्दा पुरानो हो। र, यो रंगशाला कतारले विश्वकपको आयोजना अधिकार पाउनु अगाबै निर्माण गरिएको हो। बाँकी रंगशाला चाहिँ आयोजना अधिकार पाएपछि मात्रै बनाइएका हुन्। ४५ हजार भन्दा बढी दर्शक अट्ने छन् । यो रंगशालामा विश्वकपको तेस्रो स्थानको लागि खेल खेलाइने छ। साथै राउन्ड अफ १६ सम्मका खेल पनि हुने छन्।

अल थुमाना रंगशाला, दोहा

दोहा सहरको केन्द्रमा रहेका यो रंगशाला त्यहाँको हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकै छ। अरब विश्वमा पुरुषले लगाउने घफिया टोपीको आकारमा बनाइएको यो रंगशालाको करिब ४० हजार दर्शक क्षमता छ। यसको डिजाइन इब्राहिम जैदहले गरेका थिए।

भविष्यमा युवा सशक्तीकरणको प्रतीकात्मक रूपमा गाफियालाई लिइएको हो । यस रंगशालामा प्रयोग गरिएको सेतो रंगले आउँदो पिढीलाई सुन्दर ढंगले खेल खेल्न प्रेरित गर्ने कुरालाई दर्शाइएको कतारले जनाएको छ । कतारले यस रंगशालालाई रंगशाला डिजाइनको इतिहासमा एक नयाँ युग भएको दाबी गरेको छ । यसमा क्वाटर–फाइनल सहितका खेल आयोजना गरिने बताइएको छ ।

अल थुमामा स्टेडियमको उदघाटन २२ अक्टोबर २०२१ मा भएको थियो । यो रंगशालामा समूह चरणबाट क्वार्टर फाइनल सम्मका खेल हुनेछन्।

अल जनौव रंगशला

अल बाक्राह सहरमा अवस्थित अल जनौव रंगशाला ४० हजार दर्शक क्षमताको छ। यसलाई बेलायती मूलका इराकी डिजाइन जहा हैदले डिजाइन गरेका हुन्। यो रंगशाला बकृय पोस्टमोर्डन र निओ फ्युट्यरिस्ट शैलीमा बनाइएको छ। यो रंगशाला कतारका परम्परातगत धो डुंगाको आकारमा बनाइएको छ । जुन डुंगा अल अक्रावामा विगतमा माछा मार्न र मोती टिप्नमा त्यहाँका आदीवासीले प्रयोग गर्दथे । विगतमा कतारका मछुवाराको त्यही संस्कृतिलाई श्रद्धास्वरूप रंगशालालाई यस्तो डिजाइन दिइएको हो ।

खलिफा अन्तर्राष्ट्रिय रंगशाला पुनर्निर्माण भएपछि यो रंगशालको उद्घाटन २०१९ मे १६ मा गरिएको थियो। विश्वकप सकिएपछि यो रंगशालाको क्षमता घटाइने बताइएको छ । यो रंगशाला सुन्दर खेलकुदमयी पार्कल्यान्डले घेरिएको छ । भविष्यमा यसले त्यस क्षेत्रका समुदायलाई फाइदा पुग्ने बताइएको छ । यो रंगशाला कतारी क्लब अल बाक्राहको घरेलु मैदानसमेत हो। यसको दर्शक क्षमता ४० हजार रहेको भए तापनि विश्वकपपछि भने दर्शक क्षमता आधा मात्र बनाइने छ। यो रंगशालामा राउन्ड अफ १६ सम्मका खेल हुने छन्।

स्टेडियम ९७४

आविष्कार र दिगोपनाको क्षेत्रमा ठूलो जित मानिएको यो रंगशाला सेन्ट्रल दोहाबाट करिब १० किलोमिटर पूर्वमा पर्ने रस आबु अबदमा रहेकाे छ । पहिलो खेल हुनुभन्दा पहिल्यै यो रंगशालाले आफ्नो इतिहास रचेको बताइएको छ । यसको निर्माण पानीजहाजका कन्टेनर र मोडुलर स्टिलको प्रयोग गरेर बनाइएको छ । यसरी प्रयोगपछि पूर्णतया हटाउन सकिने पहिलो फुटबल रंगशाला पनि बनेको छ यो रंगशाला । यस रंगशालाले दिगो विकासको क्षेत्रमा कतारको योगदान र ‘डेअरिङ डिजाइन’ लाई दर्शाएको छ ।

कतारको टेलिफोन कोड हो, ९७४। यही कोडको नामबाट निर्माण गरिएको यो रंगशाला कन्टेनरहरुको प्रयोग गरिएको छ। प्रयोग गरिएका कन्टेनरको संख्या पनि ९७४ नै छ। करिब ४० हजार दर्शक क्षमताको यो रंगशाला विश्वकपपछि रहनेछैन।

किनभने रंगशाला निर्माणमा प्रयोग गरिएका सबै कन्टेनर झिकिनेछन् । २०१७ मा निर्माण सुरु भएको यो रंगशाला गत वर्ष पूरा भयो । यो रंगशालामा समूह चरण र राउन्ड अफ १६ का खेल हुनेछन्।

सम्बन्धित खबर